कोभिड १९ को प्रभाव र उच्च सर्तकता

[sharethis-inline-buttons]

थानेश्वर अधिकारी ।

कोरोना अर्थात कोभिड १९ महामारीको कारण अहिले बिश्व समुदाय नै आक्रान्त भैरहेको छ । आम मानिसमा एक किसिमको भय र त्रासको वातावरण श्रृजना गरेको छ । विश्वभर सङक्रमितको संख्या अनपेक्षित रुपमा बढे सँगै मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दै गैरहेको छ । यो महामारी हतियार बिनाको तेस्रो बिश्व युक्त जस्तै बनेको छ ।

पछिल्लो समयमा नेपालमा पनि संक्रमितको सङख्या उल्लेख्य रुपमा बढ्दै जानाले पनि अबका दिनहरु सरकार लगायत हामी सबैको लागि एकदम जटिल एवमं चुनौतीपूर्ण बनेको छ । यस्तो जटिल परिस्थितिमा सबै तहका सरकार, राजनैतिक दल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, अभियानर्की एवम् स्वयम् नागरिकहरु अझ जिम्मेवार बन्नुपर्ने देखिन्छ ।

यस जटिल अवस्थामा महामारीलाई न्यूनिकरण गर्नको लागि राज्यको ठूलो भूमिका देखिन्छ । आवश्यक बजेट व्यवस्थापन गर्ने, राहत कार्यक्रम , स्वास्थ्य सामग्रीहरु औषधिहरुको समयमा व्यवस्थापन गर्ने देखि लिएर महामारी न्युनिकरण गर्न सबै सरोकारवालाहरु सँग समन्वय गरेर अगाडी बढ्नु पर्दछ ।

विशेष गरि सङक्रमणको पहिचान, रोकथाम , उपचार र नियन्त्रणसँग प्रत्यक्ष संलग्न हुने जनशक्तिहरुलाई हौसला प्रदान गर्दै महामारीसँग जुध्नु पर्ने देखिन्छ । उच्च मनोबलले नै रोगसँग लड्ने प्रतिरोध क्षमतामा बढाउने हुनाले क्वारेन्टाईन, आईसोलेसनमा बसेकाहरु मात्र नभएर आम नेपाली जनताहरुले सधै सकारात्मक सोंच राख्नुपर्ने देखिन्छ ।

समाजमा कोरोना संक्रमित र उसका परिवार प्रति अमानविय व्यवहार देखिनु कोरोना रोग प्रतिको भय र त्रासका पनि हुन सक्छ साथै कमजोर मानसिकताको पराकाष्टा पनि । यदी हामी सबै जना सचेत र संयमित भयौ भने नेपालमा महामारी नियन्त्रण हुन सक्छ तर असावधानीका कारण महामारी अलि व्यापक रुपमा फैलियो भने यो भन्दा जटिल समस्या देखिन सक्छ । यो बिषयमा समयमै सचेत हुनु आवश्यक छ ।

कोभिड १९ सरुवा रोग भएकोले पनि सुरक्षाका विधिहरु समयमा अपनाईएन भने स्वयम स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, अभियानकर्मी लगायत अन्य मानिसहरुमा नै सर्न सक्ने प्रबल सम्भावना देखिन्छ । ज्यान नै जोखिममा राखेर अहोरात्र खट्नु पर्ने बाध्यात्मक परिस्थिति एकातिर छ भने अर्कोतिर सामाजिक अपहेलना , आफ्ना निजि संवेदना र दायित्वहरुलाई एकातिर थाती राखेर अहोरात्र खटिनु परेको पीडा देखिन्छ ।

स्वास्थ्यकर्मी मात्र नभएर क्वारेन्टाईनमा बसेकाहरुलाई पनि एक किसिमको हौसला दिनु जरुरी छ । मानिस क्वारेन्टाईनमा बस्दा त्रसित नहोस् भन्नका लागि क्वारेन्टाईनमा किन बसिन्छ, कोरोना कस्तो रोग हो, के यो रोग लाग्न बित्तिकै मानिस मर्छ की मर्दैन आदि जस्ता विषयहरुमा जानकारी दिने । उनीहरुको नैराश्यता हटाउनको लागि बेला बेलामा योगाहरु, ध्यानहरु, नृत्य, संगीतको व्यवस्था गर्यो भने उनीहरुमा एक किसिमको उत्प्रेरणा पैदा हुन्छ ।

पछिल्ला दिनहरुमा क्वारेन्टाईन तोकिएको मापदण्ड अनुसारको नभएको भन्ने गुनासोहरु आइरहेको सन्दर्भमा क्वारेन्टाइन बनाउँदा मापदन्ड पूरा गर्नुपर्ने, मापदण्ड पूरा नभएका क्वारेन्टाईनहरु तुरुन्त निर्धारित मापदण्डक बमोजिम बनाउनु पर्ने त्यस्तै गरि स्वस्थकर खानाको व्यवस्था गर्नु पर्ने देखिन्छ ।

सङक्रमित बिरामीलाई त झनै आत्मबल बढाउने किसिमले सुमधुर ब्यवहार गर्नुपर्छ, नियमित हौसला बढाउनु पर्छ, स्वयं बिरामीमा पनि सकारात्मक सोंचका साथै उच्च मनोवल हुन जरुरी छ ।

सामाजिक सन्जालहरुमा पोष्ट हुने अनावश्यक हल्ला, अफवाह फैलाउने खालका समाचारहरुले आम नागरिकहरुमा एक किसिमको भय, त्रासको स्थिति देखापरेको छ । जसको लागि स्वयम नागरिक पनि अति सतर्क र चनाखो बन्दै आधिकारीक वेभसाईटहरुबाट प्राप्त सूचनाहरुलाई मात्रै विश्वास गर्नुपर्ने देखिन्छ । बन्दाबन्दीको कारण घरमै बस्दा मानिसहरुमा विभिन्न किसिमका समस्या देखिन्छ । जसलाई कम गर्नको लागि घरायसी काम ,शारीरिक व्यायाम, योगा, जस्ता कार्यहरु नियमित रुपमा गर्ने बानी बसाल्नु पर्ने देखिन्छ ।


प्रकाशित : २०७७ जेष्ठ १५, बिहीबार ०४:३६