नवलपरासीमा कोरोना सञ्चो हुने बढे – मृत्यु दर र संक्रमित संख्या घट्दो

[sharethis-inline-buttons]

हरि शर्मा
परासी, १० जेठ
पश्चिम नवलपरासीमा कोरोना संक्रमणबाट सञ्चो हुनेको संख्या बढ्दै गएको छ । भने संक्रमणबाट मृत्यु हुने दर र संक्रमितको संख्या घट्दै गएको छ । २ दिनदेखि सञ्चो हुनेको संख्या बढेको हो भने यो अवधिमा मृत्यु हुने र संक्रमित हुनेको संख्या घट्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी संस्थागत आइसोलेसनमा बस्नेको संख्या पनि घट्दो छ । पीसीआर परीक्षण गरी पठाइएकामध्ये ९० प्रतिशत भन्दा बढीको रिपोर्ट पोजेटिभ आउने गरेको थियो । अहिले यो प्रतिशत घटेर ७० भन्दा कममा पुगेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देविलाल पौडेलले जानकारी दिए । तथ्यांकअनुसार शनिबार ५९ जना संक्रमित भएकोमा १ सय ३५ जना निको भएर गएका छन् । त्यसदिन ३ जनाको मृत्यु भएको छ । त्यस्तै आइतबार ४३ जना संक्रमित हुँदा ४१ जना निको भएर घर गएका छन् । त्यसदिन १ जनाको मृत्यु भएको छ । एक महिनादेखि हरेक दिन संक्रमणले ३ देखि ७ जनासम्मको मृत्यु हुँदै आएको थियो । दोस्रो लहरको संक्रमणबाट जिल्लामा अहिलेसम्म ८२ जनाको मृत्यु भएको छ । संक्रमितलाई राख्न ७ वटै स्थानीय तहमा आइसोलेसन बनाइएको छ । अहिले बर्दघाट नगरपालिकामा १४ र सुनवल नगरपालिकाको आइसोलेसनमा १३ जना छन् । अन्य पालिकामा रहेका संक्रमितहरु निको भएर घर गएकाले त्यहाँ बिरामीको संख्या शुण्य छ । पृथ्वीचन्द्र अस्पतालमा भने ३० जना संक्रमितको उपचार भइरहेको छ । अझै करिब २ सय जनाको रिपोर्ट आउन बाँकी छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १३ सय ८० छ । त्यसमध्ये धेरैको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रकाशित : २०७८ जेष्ठ १०, सोमबार ११:१८