
हरि शर्मा
परासी,६ असार स् पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका सबै जनप्रतिनिधिहरूको कोरोना एण्टिजेन परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । आइतबार राखिएको नवौ नगर सभामा सहभागी हुने जनप्रतिनिधिहरूलाई एण्टिजेन परीक्षण अनिवार्य गरिएको थियो । सभा सुरू हुनु अघि नगरपालिका आफैले परीक्षणको व्यवस्था गरेको थियो । नगरपालिकामा ६८ जनप्रतिनिधि छन् । सभामा सहभागी भएका ६२ जना जनप्रतिनिधिहरूको एन्टिजेन रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य प्रमुख कृष्ण प्रसाद न्यौपानेले जानकारी दिए । ६ जना जनप्रतिनिधि अनुपस्थित थिए । सभामा ११६ जना सहभागी थिए । जसमा ३६ जना कर्मचारी, १० जना पत्रकार र ८ जना होटल व्वसायीहरूको पनि रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए ।
यसबीच नगर प्रमुख भीम बहादुर थापाले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई सबै भन्दा बढी प्राथमिकतामा राखिएको छ । कार्यक्रममा नगर क्षेत्रको कृषि र शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको छ ।

