स्वास्थ्य सेवालाई विकासको एजेण्डा बनाउन जनप्रतिनिधिलाई सुझाव

[sharethis-inline-buttons]

परासी, २६ असार
स्वास्थ्य सेवालाई समेत विकासको एजेण्डा बनाउन सरोकारवालाहरुले स्थानीय तहहरुलाई सुझाव दिएका छन् ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगर क्षेत्रको स्वास्थ्य प्रणालीको सुधार गर्न तयार गरेको ‘स्वास्थ्य प्रणाली सुदृढिकरण प्रतिवेदन पुस्तक सार्वजनिक’ कार्यक्रममा सहभागी भएका सरोकारवालाहरुले उक्त सुझाव दिएका हुन् । अहिले स्थानीय तहका वडा सदस्यहरुले स्वास्थ्य प्रणालीको नेतृत्व गरिरहेकाले स्वास्थ्य सेवालाई समेत विकासकै योजनाका रुपमा अघि सारेर बजेट विनियोजन गर्न उनीहरुको जनप्रतिनिधिहरुलाई सुझाव छ ।
उक्त प्रतिवेदन नगरपालिकाले एक्सन अर्गेष्ट हंगर नामक गैर सरकारी संस्थाको प्राविधिक सहयोगमा तयार गरेको हो । कार्यक्रममा एक्सन अर्गेष्ट हंगरका सहजकर्ता सुजय नेपाली भट्टचार्यले नगर क्षेत्रमा रहेका स्वास्थ्य समस्या, सुदृढिकरण र रणनीतिहरुलाई अबलम्बन गरेर ३ वर्षे कार्य योजनासहितको प्रतिवेदन तयार गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको बताए । कार्य योजनामा आगामी २०८१ को अन्तसम्म नगर क्षेत्रमा रहेका सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक स्वास्थ्य सेवादेखि भौतिक पूर्वाधार र आधारभूत सामग्रीहरु राष्ट्रिय मापदण्ड अनुसार हुने अपेक्षा लिइएको छ ।
प्रतिवेदन पुस्तक सार्वजनिक गर्दै रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले नगरपालिकाले पहिलो पटक प्रतिवेदन तयार गरेको बताए । कार्ययोजनामा उल्लेख भएका सुझावका आधारमा आवश्यक बजेट विनियोजन गरेर नगर क्षेत्रको स्वास्थ्य क्षेत्रको सुदृढिकरण गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण प्रसाद पोखरेल, पत्रकार महासंघका अध्यक्ष हरि शर्मालगायतले प्रतिवेदन कार्यान्वय गर्न सके नगर क्षेत्रको स्वास्थ्य क्षेत्रले फड्को मार्ने विश्वास व्यक्त गरेका थिए ।
प्रतिवेदनमा नगर क्षेत्रको स्वास्थ्य अवस्थाको सबल र कमजोर पक्ष तथा सुधार गर्नुपर्ने पक्षहरु समावेश छन् । विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको स्वास्थ्य प्रणालीको ६ आधार स्तम्भ र १ सय १४ वटा सूचकलाई समावेश गरिएको प्रतिवेदन तयार गर्न २ वर्ष लागेको थियो ।


प्रकाशित : २०७८ असार २६, शनिबार १३:१८