हरि आचार्य, कपिलवस्तु
आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसंगै नेकपा (एमाले) मा प्रवेश गर्नेको लहर लागेको छ । मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा एमालेलाई जिताएमा मात्र एमाले नेतृत्वको सरकारले मात्र देशको विकास गर्न सक्ने भन्दै विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नेको लहर लागेको हो । सोहि क्रममा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ मा विभिन्न पार्टी परित्याग गरि करिव ६० जना एमालेमा प्रवेश गरेका हुन् । क्षेत्र नंं १ अन्तर्गत बाणगंगा नगरपालिका वडा नं. ११ ओदारीमा पार्टीको सम्पर्क कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका करिव ६० जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले नेता सोमनाथ अर्यालले जानकारी दिनुभयो ।
नवप्रवेशीहरुलाई पार्टीका पोलिटब्युरो सदस्य बिमला घिमिरे, क्षेत्र नंं. १ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारी, क्षेत्र नंं १ (क) प्रदेश सभा सदस्यका उम्मेदवार बिष्णु पन्थीले टिका र खादा लगाई पार्टीमा स्वागत गर्नुभएको थियो ।
अरु पार्टीहरुको कसरी सत्तामा पुग्ने भन्ने उद्देश्य रहेको र देश र जनताको लागि लाग्ने पार्टी एमाले मात्र भएकाले एमालेमा प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन् ।
कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य बिमला घिमिरेले देशैभर एमालेमा प्रवेश गर्नेको लहर लागेको बताउदै आगामी निर्वाचनमा एमालेको बहुमत आउने दावि गर्नुभयो । उहाँले पार्टीले गरेका काम, एजेण्डाहरु प्रष्टसंग जनतासामु राख्नुपर्ने बताउदै देश एमालेमय बन्ने बताउनुभयो ।
प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारीले एमाले नेतृत्वको सरकारले छोटो समयमा सुरु गरेका र अधुरा विकासका काम पुरा गर्न एमालेकै सरकारको आवश्यक रहेको बताउनुभयो । उहाँले एमालेको सरकारले गरेका कामको बारेमा जनतालाई स्पष्टसंग जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै क्षेत्र नं. १ (क) प्रदेश सांसदका उम्मेद्वार बिष्णु पन्थीले एमालेमा प्रवेशको लहर देख्दा देशको संघिय र सबै प्रदेश सरकार एमालेकै नेतृत्वमा बन्ने निश्चित रहेको दावि गर्नुभयो । पन्थीले एमाले नेतृत्वको प्रदेश सरकार हुंदा र गठबन्धन सरकार हुंदाको फरक जनताले राम्रोसंग बुझेको बताउनुभयो ।
यता प्रतिनिधि सभा सदस्यका उम्मेद्वार अधिकारी क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्य पदका उम्मेद्वार मधुसुदन शरण चौधरीले पनि मतदाता भेटघाट तथा अन्तरक्रियालाई तिब्रता दिनुभएको छ । सोहि क्रममा आज शुद्धोधन गाउँपालिका वडा नंं. ६ का बाँसखोर, कर्मा, वेलभरिया, कपासी, टिटेरिया लगायतका विभिन्न स्थानका मतदाताहरुसंग भेटघाट गरि उनीहरुका समस्या बुझी समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रदेश सभा सदस्यका उम्मेद्वार चौधरीले एमाले नेतृत्वमा बन्ने प्रदेश सरकारबाट आफ्नो क्षेत्रका मतदातालाई विकासको लहर ल्याउने बताउनुभएको छ । आफ्नो क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, सिंचाईमा पछाडी रहेकाले आधारभुत आवश्यकतासंगै सबै विकासका पुर्वाधारहरुमा प्राथमिकताका साथ लागिपर्ने बताउनुभयो ।