
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ ओदारी स्थित हथौसा लिटल स्टार सेकण्डरी इङ्गलीस बोर्डिङ्ग स्कुलले अभिभावकहरुलाई अभिमुखीकरण प्रदान गरेको छ । विद्यालयमा अध्ययनरत बाबुनानीमा अनुशासन, जिम्मेवारी र संस्कार सहितको रुपान्तरणका लागि उक्त अभिभावक अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सुन्दर पाण्डेले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो ।
कार्यक्रमको औपचारिक सत्रमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले बालबालिकाहरुमा व्यवहारिकता तथा नैतिकताको पालना गराउन यस्ता कार्यक्रमले त्यसको समाधानका लागि महत्वपुर्ण सहयोग गर्ने बताउनुभयो । पछिल्लो समय बालबालिकालाई डर धम्की र त्रास बाटै अुशासनमा ल्याउन सकिन्छ भन्ने गलत धारण मौलाउँदै गैरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताउनुभायो । बालबालिकालाई हरेक पक्षमा अब्बल बनाउन परिवारका सदस्यहरुको भुमिका महत्वपुर्ण रहने उहाँले बताउनुभयो ।
त्यस्तै बाणगङ्गा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष नरेन्द्र प्रसाद चौधरीले हाम्रा बालबालिकाको पढाई बिग्रदा दोष शिक्षक र विद्यालयलाई लगाउने गरिएको भन्दै सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी अभिभावकको हुने बताउनुभयो । भविष्यका कर्णधार बालबालिकाको बारेमा बुझ्नको लागि अभिभावकहरु नियमित विद्यालयमा आउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक सुन्दर पाण्डेले आफ्नो विद्यालयमा अध्यन गरेका बालबालिका हरेक क्षेत्रमा अब्बल रहेको भन्दै त्यसको निरन्तरताका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न अभिभावकको भुमिका महत्त्वपूर्ण हुनेभएकाले उक्त कुराको बोध गराउन अभिमुखिकरण कार्यक्रम गरिएको बताउनुभयो ।
अभिमुखिकरण कार्यक्रममा मोटिभेस्नल ट्रेनर प्रितम पौडेलले प्रयोगात्मक सहित प्रशिक्षण प्रदान गर्नुभएको छ । उहाँले बालबालिकालाई कुनै पनि कार्यसंगै अध्यापनमा आकर्षण गर्ने तरिका, अभिभावकहरुको हौसलाले बालबालिकामा पर्ने मानसिक प्रभाव, परिवारका सदस्यको सम्बन्धका कारण पर्ने असर, अनुशासन तथा संस्कारको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहाँले अभिभावक र शिक्षक, विद्यार्थी र शिक्षक, अभिभावक र विद्यार्थी बिच हुने असल सम्बन्धले विद्यार्थीहरुको सिकाई प्रभावकारी हुने स्पष्ट पार्नुभएको थियो । पौडेलले पैसाले मात्र छोराछोरीको भविष्य राम्रो नहुने भन्दै समय आवश्यक पर्ने बताउनुभयो ।
साथै उहाँले पछिल्लो समय बालबालिका मोबाईलमा धेरै भुल्ने गरेको भन्दै त्यसको जिम्मेवारी अभिभावकले लिनुपर्ने बताउनुभयो । त्यस्तै प्रशिक्षक पौडेलले छोराछोरीलाई अनुशासन सङ्गै व्यवहारिक बनाउन अभिभावक तथा परिवारका सदस्यले प्रयोग गर्ने भाषा, व्यवहार, चालचलन राम्रो हुनुपर्ने, घरको वातावरण शान्त हुनुपर्ने, बालबालिकालाई सजायको नाममा गालिगलौज तथा शारीरिक यातना दिननहुने, अन्य सङ्ग तुलना गर्न नहुने बताउनुभयो । उहाँले अभिभावक र बालबालिकाको सम्बन्ध समधुर गराउने उपाय, छोराछोरीलाई अनुशासनमा राख्ने उपाय, अभिभावक तथा बालबालिकाको जिम्मेवारी तथा कर्तव्य लगायतको विषयमा प्रशिक्षण गराउनुभएको थियो ।
विद्यालय सञ्चालक समितीका निवर्तमान अध्यक्ष डिल्लिराज भुषालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यार्थी देविका पोख्रेलले गर्नुभएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।