
हरि आचार्य, कपिलवस्तु
भूमि समस्या समाधान आयोग जिल्ला समिति कपिलवस्तुले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको जग्गा नाँप जाँचको शुभारम्भ बाणगंगा नगरपालिकाबाट सुरु गरेको छ । जिल्ला समिति कपिलवस्तुको आयोजना तथा बाणगंगा नगरपालिका भूमि ईकाई कपिलवस्तुको सह आयोजनामा गरिएको नाँप जाँचको शुभारम्भ कार्यक्रमसंगै बाणगंगा नगरपालिकाको वडा नंं ७ बाट जग्गा नाँप जाँच सुरु गरिएको हो । यो संगै कपिलवस्तुमै पहिलो पटक बाणगंगा नगरपालिका वडा नंं. ७ बाट जग्गा नाँप जाँचको काम हुने भएको वडाध्यक्ष बिष्णु गिरीले लुम्बिनी दर्पणलाई जानकारी दिनुभएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपानेले जग्गा नाँप जाँच गर्ने मेसीनको स्वीच अन गरेर उक्त कार्यको उद्घाटन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद न्यौपानेले अहिले कांग्रेस एमाले मिलेर बनेको सरकारले जनताको चाहानाअनुरुप काम गरिरहेको बताउनुभयो । नेकपा (एमाले) का केन्द्रिय सदस्य समेत रहनुभएका न्यौपानेले कुनै पनि राजनीतिक पक्ष नलिई वास्तविक जनतालाई भूमिपति बनाउनु सरकारको उद्देश्य रहेको बताउनुभयो । उहाँले विगतका अन्य दलको नेतृत्वमा रहेका सरकारले जनताको यो महत्वपुर्ण काम गर्न नसकेको भन्दै अहिलेको सरकारले आवश्य पुरा गर्ने योजनाका साथ अगाडि बढिरहेको लुम्बिनी दर्पणलाई बताउनुभयो ।
भूमि समस्या समाधान आयोग कपिलवस्तुका अध्यक्ष झबिलाल पोख्रेलले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले पाउने जग्गाको सीमा र मापदण्डबारे स्पष्ट पार्नुभयो । पोख्रेलले कुनै पनि जनप्रतिनिधिले लालपुुर्जाको लागि सिफारीस नदिएमा आयोगलाई खबर गर्न अनुरोध गर्नुभयो । उहाँले कसैले राजनीतिक प्रतिशोध राखेर भोट नदिएकै आधारमा सहजिकरण नगर्ने बताउँदै आयोगले निश्पक्ष र जनताको भावना बुझेर मात्र काम गर्ने बताउनुभयो । उहाँले लाभग्राहीहरुले एक आपसमा विवाद नगरि मापदण्ड र सीमाको पालना गर्दै अगाडि बढेमा काम छिटो हुने अन्यथा अर्को स्थानमा काम गरिने लुम्बिनी दर्पणलाई बताउनुभयो ।
बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले नगरवासीहरुलाई लालपुर्जा बितरणका लागि नगर आतुर रहेको बताउदै सहजिकरणका सम्पुर्ण वडाध्यक्ष जनप्रतिनिधिलाई अनुरोध गर्नुभयो । कपिलवस्तुमै पहिलो पटक बाणगंगाबाट जग्गा नाँप जाँचको काम सुरु गरेकोमा आयोगलाई धन्यवाद दिंदै बाणगंगा नगर हरेक क्षेत्रमा अगाडि रहेको लुम्बिनी दर्पणलाई बताउनुभयो ।
बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासीनि, नेपाली कांग्रेसका तर्फबाट छबिलाल नेपाली, रास्वपाका प्रतिनिधि पदम रेग्मी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
आयोग जिल्ला समिति कपिलवस्तुका पुर्व अध्यक्ष डम्मर शर्मा, नापि कार्यालयका प्रमुख जनक बहादुर भण्डारी, बाणगंगा नगरपालिकाका उप प्रमुख रीता कुमारी चौधरी, नगर प्रवक्ता बिष्णु प्रसाद पौडेल, भूमि समस्या समाधान आयोगका सदस्यहरु, कर्मचारी लगायतको आतिथ्यता, संयौको उपस्थिती रहेको कार्यक्रम वडा नंं ७ का वडाध्यक्ष बिष्णु गिरीको स्वागत तथा बाणगंगाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खिम बहादुर जिसीको संचालनमा सम्पन्न भएको हो ।