
हरि आचार्य, कपिलवस्तु
मनोपरामर्श, स्नेह र माया नै लागु पदार्थ दुर्व्यसनबाट पुर्नस्थापना गर्ने विकल्प रहेको सरोकारवालाहरुले बताएका छन् । सिद्धार्थ सामाजिक विकास केन्द्रले आयोजना गरेको लागु पदार्थ दुर्व्यसन विरुद्ध सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रममा लागु पदार्थ दुव्र्यसन न्युनिकरणका लागि सबै एकजुट भएर लाग्ने सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका हुन् ।
अन्तरक्रिया कार्यक्रममा ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरिक्षक लोकेन्द्र बहादुर जिसीले लागु पदार्थ दुर्व्यसन लागू पदार्थ सेवनका कारण, असर तथा न्युनिकरणका उपायहरु बारेमा प्रष्ट पार्नुभएको थियो । उहाँले खुला सिमानाकाका कारण लागु औषधको सेवन तथा कारोबार बढी देखिएको र छिमेकि देश भारत र नेपालको लागुऔषद सम्बन्धिको कानुन फरक भएकाले पनि प्रभाव परेको बताउनुभयो । उहाँले बाणगंगामा लागु औषध सेवनको अवस्था, मुद्धा दर्ताको तथ्यांक समेत प्रस्तुत गर्नुभएको थियो ।
प्रहरी निरिक्षक जिसीले साथी संगति, कौतुहल्ता/उत्सुकता, पारिवारिक समस्या, पढाईमा समस्या लगायतका कारणले गर्दा व्यक्ति लागु पदार्थ दुव्र्यसनमा फस्ने बताउँदै व्यक्तिगत जीवन, परिवार, सामाजिक जिवन, आर्थिक विचलन, सामाजिक मान मर्यादा र अन्त्यमा मृत्यु जस्ता यसका असर रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका उप प्रमुख रीता कुमारी चौधरीे लागू औषद पदार्थ सेवन तथा ओसारपोसार न्युनिकरणका लागि नगरपालिकाले नीति बनाउदै बजेट विनियोजन गरिरहेको बताउनुभयो । उप प्रमुख चौधरीले विद्यार्थीहरुलाई लक्षित गर्दै विभिन्न विद्यालयमा, नगरका वडा वाल संजाल, नगर वाल संजाल, युवा संजाल, टोल विकास संस्था लगायत विभिन्न स्थानमा नगरपालिकाले सचेतनामुलक कार्यक्रम गरिरहेको बताउनुभयो । चौधरीले पुर्नस्थापना केन्द्रहरुलाई सहयोग गरिरहेको बताउँदै लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियानमा सबै संघ संस्थाहरुसंग नगरपालिका हातेमालो गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा फ्रिडम फाउन्डेसनका हेमन्त थापा, नागरिक समाज कपिलवस्तुका अध्यक्ष अर्जुन पोख्रेल, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री, भुपु सैनिक खोपानी तथा सरसफाई संस्थाका अध्यक्ष राजेन्द्र विक्रम शाह, श्रृंगीघाट सामुदायिक वनका सचिव कमला खाँण लगायतले लागु पदार्थ दुर्व्यसन विरुद्ध विशेष अभियान संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका सचिव दुर्गा अर्यालले संस्थाको ईतिहास र परिचय तथा आगामि योजनाको बारेमा प्रकाश पार्नुभएको थियो । सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सुर्यकुमारी शाहीको अध्यक्षता, हरिराज शर्माको स्वागत तथा संस्थाका आन्तरिक कार्यक्रम संयोजक रोमकान्त घिमिरेको सहजिकरणमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा विभिन्न सामाजिक संघ संस्था, सामुदायिक वन, सहकारी, खानेपानी, विद्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।