
हरि आचार्य, कपिलवस्तु
बाणगंगा खानेपानी तथा सरसफाई संस्थाको आयोजनामा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरुमा महिला नेतृत्व ः चुनौती र संभावना एवम् संस्थाको कार्यक्षेत्र भित्र सरसफाई अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ स्थित उक्त खानेपानीको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका उप प्रमुख रीता कुमारी चौधरीले महिलाहरुलाई नेतृत्वमा लैजानका लागि अझै पनि पुर्ण रुपमा समाजले विश्वास नगरेको अवस्था रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उप प्रमुख चौधरीले खानेपानी र सरसफाईको क्षेत्रमा बाणगंगा खानेपानीले उदाहरणि कार्य गरिरहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ठ अतिथि बाणगंगा नगरपालिका वडा नं. २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले बाणगंगा नगरपालिकालाई पुर्ण सरसफाई युक्त नगर घोषणा गर्ने योजना अन्तर्गत वडा नं. २ बाट यो अभियान सुरु भएको बताउँदै यसमा बाणगंगा खानेपानीको अहम भुमिका रहेको बताउनभयो । नगरपालिकाका प्रवक्ता समेत रहनुभएका पौडेलले यो २१ औं शताब्दीमा आएर नागरिकहरुलाई सरसफाईका लागि सिकाउदै हिड्नुपर्ने अवस्था नभएको भन्दै संघ संस्थाहरुमा महिला नेतृत्व आउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सम्बोधन गर्दै बाणगंगा नगरपालिका कार्यपालिका सदस्य शान्ता पाण्डेले खानेपानी संस्थामा मात्र नभएर अन्य संघ संस्थामा पनि महिलाहरुको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष राजेन्द्र बिक्रम शाहले महिलाहरुले नेतृत्व गरेका संघ संस्थाहरुमा पारदर्शिता र सुशासन रहेको उल्लेख गर्दै खानेपानीबाट नेतृत्व सुरु गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष एवम् खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रिय सदस्य विश्व कार्कीले खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरुमा महिला नेतृत्व : चुनौती र संभावनाबारे कार्यपत्र सहित प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहाँले नेपालमा महिलाको अवस्था, लैगिंक असमानता, स्थानीय सरकारमा महिला र पुरुषको पहुँच लगायतका विविध बिषयमा स्पष्ट पार्नुभएको थियो ।
त्यस्तै संस्थाका सरसफाई संयोजक जगतराज रेग्मीले सरसफाईका कुल घटक, प्रक्रिया र विधिहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सम्पुर्ण सहभागीहरु बिच समुहहरुमा विभाजन गरि खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरु र अन्य संघ संस्थाहरुमा पहुँच र नियन्त्रण कस्तो छ विविध बिषयमा समस्याहरुको टिपोट गरि अन्तरक्रिया गरिएको थियो ।
बाणगंगा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष विश्व कार्कीको अध्यक्षता, उपाध्यक्ष हर्क बहादुर कार्कीको स्वागत तथा सचिव हिमलाल अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा खानेपानीको सेवा क्षेत्र भित्रका विभिन्न संघ संस्था, विद्यालय, सामुदायिक वन, टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।