हरि आचार्य, कपिलवस्तु
सामाजिक विकास डिभिजन कार्यालय तौलिहवा कपिलवस्तुले उत्कृष्ट विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरेको छ । अर्घाखाँची र कपिलवस्तु जिल्लाका १६ वटा पालिकाका विद्यालयहरुलाई सम्मानित गरिएको हो । स्थानीय तहले सिफारीस गरे अनुसार दुबै जिल्लाका विद्यालयका व्यवस्थापन समिति, शिक्षक तथा कर्मचारीहरुलाई दोसल्ला, अविर, नगद तथा सम्मान पत्र सहित सम्मानित गरिएको हो ।

सम्मान ग्रहणसंगै यो सम्मानले अझ हौसला बढेको भन्दै गुणस्तरीय शिक्षाका लागि सक्रिय भएर लाग्ने सम्मानित व्यक्तिले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले सम्मान हुनेहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ सक्रियताका साथ काम गर्न अनुरोध गर्नुभयो । उहाँले यो सम्मानको गरिमालाई बचाउनुपर्नेमा जोड दिंदै शिक्षा जस्तो संवेदनशिल क्षेत्रलाई गुणस्तरिय बनाउनुपर्ने बताउनुभयो ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले वालवालिकाहरुको भविष्यसंग जोडिएको शिक्षा क्षेत्रलाई अझ मजबुत बनाउनका लागि सबै मिलेर काम गर्नुको विकल्प नरहेको बताउनुभयो ।

बाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खिम बहादुर जिसिले शिक्षाको गुणस्तरीयता विकासका लागि हरेक पालिकाका शिक्षा शाखाले काम गरिरहेको बताउनुभयो ।

त्यस्तै सन्धिखर्क नगरपालिकाका पुर्व मेयर कमल भुसालले सम्मानित हुन पाउँदा खुसी लागेको बताउनुभयो ।
सामाजिक विकास डिभिजन कार्यालय तौलिहवा कपिलवस्तुका अध्यक्ष हरिलाल अर्यालको अध्यक्षता, डिविजन अधिकृत रामकरण पालको स्वागत मन्तब्य तथा जनता माविका प्राचार्य रमेश पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा अर्घाखाँची र कपिलवस्तुका विभिन्न विद्यालयका व्यबस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
























