विकास पोख्रेल, तौलिहवा
कपिलवस्तु होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ जिल्ला समितिले हालै जिल्लामा आयोजना हुँदै आएको परम्परागत मेलालाई स्थगन गर्न माग गर्दै सम्बन्धित सरकारी तथा स्थानीय निकायहरूलाई ज्ञापनपत्रसहित औपचारिक पत्राचार गरेको छ।
संघका सचिवालय समिति सदस्य होमनाथ पौडेलका अनुसार, वि.सं. २०८० मङ्सिर १७ देखि २७ गतेसम्म बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गेमा आयोजित मेला स्थानीय तहको विकास, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन, र कृषि उत्पादनको प्रचारप्रसारका उद्देश्यले पहिलोपटक भव्य रूपमा सफल भएको थियो। दोस्रो वर्षमा संघले नेतृत्व गर्दै उद्योग वाणिज्य संघ बुद्धभूमिलाई सहकार्यमा ल्याएर मेलालाई पुनः सफल बनाएको थियो।
तर यस वर्षको मेलाको आयोजनामा उद्योग वाणिज्य संघ बुद्धभूमिले एकतर्फी निर्णय गर्दै ठेक्का प्रक्रिया अघि बढाएको भन्दै व्यवसायी संघले आपत्ति जनाएको छ। मेलाको निरन्तरताका लागि दुबै पक्षबीच संवाद आवश्यक रहेको भन्दै संघले मेलासम्बन्धी तथ्यहरू छानबिन गरी समाधान खोज्न ज्ञापनपत्र बुझाएको हो।
संघले जिल्ला प्रमुख, नगर प्रमुख, जिल्ला अदालत, वन समिति, र बुद्धभूमि नगरपालिकालगायतका निकायहरूलाई पत्र पठाउँदै मेलाको प्रभाव, व्यवस्थापन चुनौती, र सम्भावित असमानताबारे गम्भीर चासो व्यक्त गरेको छ। पौडेलका अनुसार, मेलाको नाममा “ठूला माछाले साना माछा खाने” अवस्था सिर्जना भएको छ, जसले स्थानीय व्यवसायीहरूलाई अन्यायमा पार्न सक्छ।
“हामीले परिस्थिति हेरेर मेलालाई रोक्न पत्र प्रकाशित गरेका छौं,” पौडेलले भने, “समाधान नभएमा व्यवसायीहरू अन्यायमा पर्ने खतरा छ।” संघले मेलाको व्यवस्थापनमा पारदर्शिता, समावेशिता, र स्थानीय व्यवसायीको हित सुनिश्चित गर्नुपर्ने माग राखेको छ।
हालसम्म मेलाको औपचारिक स्थगनबारे कुनै निर्णय सार्वजनिक भइसकेको छैन। यद्यपि, संघको सक्रियता र सार्वजनिक अपिलले स्थानीय तहमा नयाँ बहसको सुरुवात गराएको छ।






















