
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु उद्योग वाणिज्य संघकोे १६ औं बार्षिक साधारण सभा तथा ८ औं अधिवेशनको उद्घाटन आज हुंदैछ । संघको साधारण सभाको कार्यक्रम लगत्तै अधिवेशनको प्रकृया शुरु हुन्छ । नयाँ नेतृत्वका लागि निर्वाचन हुने पक्का भएपछि यतिवेला उम्मेद्वारहरु घरदैलोमा व्यस्त देखिन्छन् ।
उम्मेदवारहरु चुनावी एजेण्डा र प्रतिवद्धता लिएर भोट माग्नमा व्यस्त भएका छन् । निर्वाचनको समय नजिकिदै गएपछि आफना प्रतिवद्धता सहित उम्मेदवार दिनभरीनै घरदैलोमा भेटघाटमा पुगेका छन् । अध्यक्षका उम्मेदवार मोहन न्यौपानेको साझा व्यवसायिक समावेशी संयुक्त प्यानलले कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगालाई लुम्बिनी प्रदेशमै विशिष्टीकृतको पहिचान बनाउने प्रतिवद्धता गरेको छ । ‘आर्थिक समृद्धि, व्यवसायिक हकहित र सुरक्षा’ को अभियानमा हाम्रो टिम प्रतिवद्ध छ, उहाँले भन्नुभयो । ‘विगतको सफलता, संस्थागत विकास र प्रगतिमा प्राप्त उपलब्धीलाई निरन्तरता दिन्छौं’ । यो संगै मोहन न्यौपानेको साझा व्यवसायिक समावेशी संयुक्त प्यानल सर्वत्र चर्चामा आएको छ भने युवाहरुको प्यानल चुनावी मैदानमा उत्रीएसंगै व्यवसायी उत्साहित भएका छन् ।
अध्यक्ष न्यौपानेको प्यानलमा उपाध्यक्षमा विरेन्द्र खाँण, उद्योग उपाध्यक्षमा रबिन्द्र पौडेल, वाणिज्य उपाध्यक्षमा नारायण पौडेल, बस्तुगत उपाध्यक्षमा रनेन्द्र सेन, एशोसिएट उपाध्यक्षमा बुद्धिराम पौडेल, महिला उपाध्यक्षमा पवित्रा सोमै, महासचिवमा मदन पौडेल, सचिवमा दामोदर पन्थी, कोषाध्यक्षमा धिरज खनाल, सहकोषाध्यक्षमा कृष्ण प्रसाद गैरे, महिला सदस्यमा निर्मला पाण्डे अधिकारी, महिला सदस्यमा मधु केसी, सकरानी थारु, बनगाई क्षेत्रगत सदस्यमा यज्ञ भट्टराई (वाणिज्य), सन्तोष सुनार (उद्योग), वोर्डगाउँ क्षेत्रबाट क्षेत्रगत सदस्यमा धिरज विष्ट, चारनम्बरबाट क्षेत्रगत सदस्यतर्फ उद्योग तर्फ असिम कंडेल क्षेत्री, वाणिज्य तर्फ जनक अधिकारी, कोपवाबाट क्षेत्रगत सदस्यमा पंकज पाण्डे, ओदारीबाट क्षेत्रगत सदस्यमा मदन अर्याल, पटनाबाट क्षेत्रगत सदस्यमा रामेश्वर थारु, पिपराबाट क्षेत्रगत सदस्यमा नरेन्द्र बस्याल, गजेहडाबाट क्षेत्रगत सदस्यमा दण्डपाणी भट्टराई, कृष्ण प्रसाद भट्टराई, बैरियाबाट क्षेत्रगत सदस्यमा हुम बहादुर कार्की, एशोसियट सदस्य विष्णु पाठक, जितेन्द्र श्रेष्ठ रहेका छन् ।
अध्यक्षका उम्मेदवार न्यौपोनले व्यवसायिक सुरक्षाको लागि ४० लाखबाट १ करोड अक्षय कोष स्थापना संगै सदस्यहरुको व्यवसायिक विमाको प्रबन्ध गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । व्यवसायी दुर्घटना वा कुनै कारणले मृत्यु भएमा १ लाख सम्म राहत दिने व्यवस्था गरिने बताउनुभयो । उहाँले संस्थागत सुशासनलाई पहिलो प्राथमिकता दिएर आर्थिक पारदर्शीतालाई पूर्णता दिदै लुम्बिनी प्रदेशमै आफ्नो पहिचान स्थापित गर्ने कुरामा प्रतिवद्धता व्यक्त गर्नुभयो । उम्मेदवार घोषणा सभा कार्यक्रममा न्यौपानेले २० बुँदे प्रतिवद्धता पत्र पेश गर्नुभएको थियो ।
व्यवसायीको सुरक्षा कोषको प्रवन्ध गर्दै दुर्घटना वा कुनै कारणले मृत्यु भएमा १ लाख सम्मको राहत रकम उपलब्ध गराउने व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । घरदैलोमा सदस्यहरुसंग भेट्दा व्यवसायीका धेरै गुनासा र समस्याहरु रहेको उहाँले बताउनुभयो । न्यौपाने प्यानलले सदस्यको हक अधिकार र पेशागत सुरक्षामा आगामी दिनमा आफनो नेतृत्वमा देखिनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । संस्थागत सुशासन र आर्थिक पारदर्शीतालाई मुख्यअस्त्रको रुपमा अंगीकार गर्ने न्यौपाने प्यानलको अठोट छ ।

