
हरि आचार्य, कपिलवस्तु
मानव अधिकारका लागि महिला, एकल महिला समुह कपिलवस्तुको आयोजनामा मौसमी तथा बेमौसमी तरकारी खेती तालिम सम्पन्न गरिएको छ । बाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा संचालित उक्त ७ दिने तालिमको आज औपचारीक समापन गरिएको हो । नगर भित्रका एकल महिलाहरुका लागि सीप तथा क्षमता विकास अन्तर्गत प्रदान गरिएको उक्त तालिमका सहभागी कमला भट्राई र कमला विकले तालम निकै प्रभावकारी र उपयोगी भएको बताउनुभयो । साथै सोहि कार्यक्रममा तालिममा सहभागी सम्पुर्णलाई विभिन्न प्रकारका बीउ समेत प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर उप प्रमुख रीता कुुमारी चौधरीले स्थानीय सरकारले नागरिकको सीप विकास गरि स्वरोजगार र रोजगारको अवसरहरुको सृजना गर्ने कार्य गरिरहेको बताउनुभयो । उप प्रमुख चौधरीले हाम्रो देश कृषि प्रधान देश भएकाले अहिले सम्म गरेको निर्वाहमुखी कृषिलाई छाडेर व्यवसायीक कृषि अंगाल्न आवश्यक रहेको बताउनुभयो । नगरपालिकाले आगामी दिनमा उत्पादनको आधारमा पनि अनुदान दिने योजना बनाएको बताउँदै कृषकहरुलाई विभिन्न अनुदान तथा सहुलियतका प्याकेजमा काम गरिरहेको बताउनुभयो । उहाँले तालिम तालिमका लागि मात्र नभई परिणाममुखी हुनुपर्ने बताउदै मानव अधिकारका लागि महिला, एकल महिला समुह कपिलवस्तुले संचालन गरेका तालिम प्रभावकारी हुंदै आएको बताउनुभयो ।
नगरपालिकाका कृषि विकास शाखा प्रमुख लेश बहादुर केसीले कृषि शाखाबाट प्रदान गरिने सेवा सुविधाको बारेमा जानकारी दिंदै समस्या भएको खण्डमा प्राविधिक घरमै आएर सुविधा प्रदान गर्ने बताउनुभयो । उहाँले कृषि पेशाबाट घरको आवश्यकता पुरा गरि आर्थिक उपार्जन पनि गर्न सकिने बताउँदै तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न अनुरोध गर्नुभयो ।
त्यस्तै सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सुर्यकुमारी शाहि, सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकला सुवेदी कमाल, निवर्तमान अध्यक्ष ईन्दिरा भट्राई लगायतले शुभकामना मन्तब्य राख्दै एकल महिलाको सहयोगका लागि संस्था र आफुहरु सदैबव तयार रहेको बताउँदै तालिममा सिकेको कुराहरुलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो ।
मानव अधिकारका लागि महिला, एकल महिला समुह कपिलवस्तुका अध्यक्ष रुपा देवी राईले तालिम सफल पार्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्र्दै आगामी दिनमा पनि समुहले यस्ता खालका तालिमहरु आयोजना गर्दै जाने बताउनुभयो । उहाँले एकल महिलाहरु संगठित अगाडि बढ्नका लागि समुहले आवश्यक सहजिकरण गर्दै जाने र आगामी दिनमा मनोविमर्श सम्बन्धि तालिमको आवश्यकता रहेको बताउनुभयो ।
मानव अधिकारका लागि महिला, एकल महिला समुह कपिलवस्तुका अध्यक्ष रुपा देवी राईको अध्यक्षता, कोषाध्यक्ष राधा बेल्बासेको स्वागत मन्तब्य तथा सचिव शोभा आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा समुहका पदाधिकारी, सदस्य तथा प्रशिक्षार्थीहरुको उपस्थिती रहेको थियो ।