भक्तपुर । मनोहरा खोला किनारस्थित सुकुमबासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घर टहरा हटाउन एक दर्जन बढी डोजर प्रयोग गरिएको छ ।
आज बिहानैदेखि एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन थालिएको हो । हिजो साँझ डोजरमाथि आक्रमण भएपछि आज बिहान सुरक्षा व्यवस्था कडा पारेर टहरा हटाउन थालिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।
यस बस्तीमा बस्तीमा सात सय ७७ घर टहरा छन् । शनिबार साँझ पनि यहाँ सात वटा ठूला पक्की घर भत्काइएका थिए । त्यस क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अवरोध गरिएको थियो । आज भने शान्तिपूर्ण रूपमा डोजर चलाइएको छ ।
सो क्रममा सुरक्षाकर्मीहरूले समान सार्न तथा बिरामीको उद्धार गर्न सहयोग गरिरहेका छन् ।



















