सरिता थारु
बाणगंगा नगरपालिका, कपिलवस्तुले आइतबार सञ्चालन गरेको घुम्ती शिविरबाट ९ सय ७० जना सेवाग्राहीले विभिन्न सेवा लिएका छन्।
बाणगंगा नगरपालिका वडा नं. ८ को आयोजना तथा वडा कार्यालयको समन्वयमा श्री मोतिपुर ४÷६ खानेपानी उपभोक्ता समितिको कार्यालय परिसरमा शिविर सञ्चालन गरिएको हो। शिविरमार्फत नगरपालिकाका विभिन्न शाखाबाट प्रदान गरिने सेवाहरू नागरिकको घरदैलोमै उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ।
शिविरमा पशु सेवा सम्बन्धी २ सय १२ जना, कृषि विकास सम्बन्धी १ सय ८४ जना, आयुर्वेद सेवा सम्बन्धी ३ सय १२ जनाले सेवा लिएका छन्। यस्तै स्वास्थ्य सेवा अन्तर्गत २ सय १५ जना लाभान्वित भएका छन् भने राजश्व, फर्म तथा व्यवसाय दर्ता तथा नविकरण सम्बन्धी परामर्श सेवा ७ जनाले लिएका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक परिचयपत्र सम्बन्धी ३४ जना र सुरक्षित आप्रवासन (सामी) तथा रोजगार परामर्श सेवा ६ जनाले लिएको प्रेस विज्ञप्तीमार्फत जानकारी गराइएको छ।
शिविरको अवलोकन गर्दै नगर प्रमुख चक्रपाणी अर्यालले नगरपालिकाले नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै लगिएको बताउनु भयो । नगरपालिकाका सेवा लिन नागरिकलाई कार्यालयसम्म धाउन नपरोस् भन्ने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरिएको उहाले भन्नुभयो । यसले सेवामा पहुँच बढाउनुका साथै नागरिक र स्थानीय सरकारबीचको सम्बन्ध अझ सुदृढ बनाएको औल्याउनुभयो ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले घुम्ती शिविरले एकै ठाउँमा बहुसेवा उपलब्ध गराउँदा समय, खर्च र झन्झट कम भएको बताउनुभयो । नागरिकको आवश्यकतालाई ध्यानमा राखेर आगामी दिनमा पनि यस्ता शिविरलाई निरन्तरता दिइने उहाले जानकारी दिनुभयो ।





















