कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले बालअधिकार संरक्षण र बालश्रम अन्त्यको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७ बमोजिम निर्धारण गरिएका सम्पूर्ण सूचकहरू सफलतापूर्वक पूरा गर्दै नगरपालिका बालश्रममुक्त स्थानीय तह घोषणा हुन सफल भएको हो।
यस उपलब्धिको कदरस्वरूप युवा, श्रम तथा रोजगार मन्त्रालयले बाणगङ्गा नगरपालिकालाई सम्मान–पत्र प्रदान गरेको छ। बिहिवार मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको हातबाट बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले उक्त सम्मान–पत्र ग्रहण गरेका हुन्।
नेपाल सरकारले बालबालिकाको सर्वोत्तम हित, सुरक्षित भविष्य र सम्मानजनक जीवन सुनिश्चित गर्ने उद्देश्यका साथ बालश्रम अन्त्यलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउँदै आएको छ। सोही अभियान अन्तर्गत स्थानीय तहहरूले बालश्रम न्यूनीकरण, बालअधिकार संरक्षण र बालमैत्री स्थानीय शासन प्रणालीलाई प्रभावकारी बनाउँदै कार्यविधिले तोकेका सबै मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था छ।
बाणगङ्गा नगरपालिकाले विगत केही वर्षदेखि बालश्रम अन्त्य तथा बालअधिकार संरक्षणका क्षेत्रमा योजनाबद्ध रूपमा काम गर्दै आएको थियो। नगरपालिकाले विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान, बालश्रममा संलग्न बालबालिकाको उद्धार तथा पुनःस्थापना, विद्यालय भर्ना अभियान, बाल संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम, बाल संरक्षण समिति परिचालन, नियमित अनुगमन तथा सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्दै आएको थियो। यही निरन्तर प्रयासका कारण कार्यविधिले निर्धारण गरेका सबै सूचकहरू पूरा गर्न सफल भएको हो।
बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७ अनुसार स्थानीय तहलाई बालश्रममुक्त घोषणा गर्न बालश्रममा संलग्न बालबालिकाको पहिचान तथा व्यवस्थापन, विद्यालयमा भर्ना तथा नियमित अध्ययन सुनिश्चित, बाल संरक्षण संयन्त्रको प्रभावकारी सञ्चालन, जनचेतना अभिवृद्धि, नियमित अनुगमन तथा आवश्यक नीतिगत व्यवस्था लगायतका विभिन्न सूचक पूरा गर्नुपर्ने हुन्छ। बाणगङ्गा नगरपालिकाले यी सबै सूचक पूरा गर्दै सो सम्मा पत्र प्राप्त गरेको हो।




















