
जेष्ठ ३०,
निषेधाज्ञा खुकुलो बनाउन गृह मन्त्रालय नयाँ ढाँचा निर्माणमा जुटेको छ । सरोकारवाला मन्त्रालय, कोभिड संकट व्यवस्थापन केन्द्र र ७७ वटै जिल्ला प्रशासन कार्यालयसँगको छलफलपछि निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न लागिएको हो । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले विद्यालय÷विश्वविद्यालयलगायत शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा÷गोष्ठी÷सम्मेलन, सिनेमा हल, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखेर बाँकीमा खुकुलो बनाउँदै लैजाने विषयमा छलफल जारी रहेको र यसबारे छिट्टै त्यसको मोडालिटी ल्याइने बताए । अहिले अत्यावश्यक सेवा र प्रशासनको अनुमतिबाहेकका क्षेत्र सबै बन्द छन् । ‘निषेधाज्ञालाई अनिश्चितकालसम्म लम्ब्याउँदै जाँदा त्यसबाट उत्पन्न हुने नकारात्मक परिस्थितिप्रति हामी सचेत र जानकार छौंं, त्यसलाई मध्यनजर गरेर विस्तारै जनस्वास्थ्यका मापदण्ड पालना गर्दै आर्थिक गतिविधि पनि खुलाउँदै लैजाने विषयमा छलफल चलिरहेको प्रवक्ता दाहालले बताउनुभयो । गृह मन्त्रालयले देशभरका प्रशासनमा निषेधाज्ञाको विकल्प र आर्थिक गतिविधि विस्तारै सञ्चालन गर्नेसम्बन्धी कार्ययोजना बनाएर पेस गर्न यसअघि नै परिपत्र गरिसकेको छ ।

