बुटवल साउन १२
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले प्रदेश सरकारले छिट्टै संसदबाट विश्वासको मत लिने तयारीमा रहेको बताएका छन् । सरकारको निर्णयहरु सार्वजानिक गर्न आयोजित कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै प्रवक्ता चौधरीले विपक्षी गठबन्धनबाट बैधानिकताका सम्बन्धमा धेरै प्रश्न उठान भएका कारण मुख्यमन्त्री शंकर पोखरेलले छिट्टै विश्वासको मत लिने तयारी भएकोबताएका हुन ।
मुख्यमन्त्रीमा नियुक्त हुँदा एमालेको एकल मतका आधारमा नियुक्त भएका मुख्यमन्त्री पोखरेलले सरकारलाई थप बलियो बनाउने भन्दै अर्को दललाई पनि सरकारमा सहभागी बनाएपछि उनलाई विश्वासको मत लिन दवाव परेको हो ।विपक्षीले बैधानिकताको प्रश्न लगातार उठाएपनि मुख्यमन्त्री पोखरेलले भने बेवास्ता गर्दै आएका छन् ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका प्रवक्ता चौधरीले जनता समाजवादी पार्टीको विवादमा आयोगले उपेन्द्र यादव समूहलाई आधिकारिकता दिएपनि त्यसले लुम्बिनी प्रदेशमा तत्काल फरक नपार्ने दाबी गरे । चौधरीले संघीयतामा प्रदेशले संघकै संरचना मान्नु पर्ने आवश्यक नरहेको बताउँदै फरक संरचना पनि बनाउन सकिने बताए । उनले जसपा केन्द्रीय संरचना वा प्रदेश प्रमुख फेरबदलले सरकारलाई खासै असर नगर्ने पनि बताए ।




















