बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तार र राजनीतिक दलसम्बन्धी अध्यादेशका विषयमा छलफल

[sharethis-inline-buttons]

काठमाडौँ, आश्विन १०

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले बालुवाटारमा छलफल गरेका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा मन्त्रिपरिषद् विस्तार र राजनीतिक दलसम्बन्धी अध्यादेशका विषयमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए ।

सरकार बनेको अढाइ महिना वित्दा पनि गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन । राजनीतिक दलसम्बन्धी अध्यादेशबारे एकीकृत समाजवादी र जसपाबीच फरक बुझाइ रहेका कारण त्यसको प्रभाव मन्त्रिपरिषद् विस्तारमा परेको छ । एमाले विभाजनकै लागि सरकारले अध्यादेश जारी गर्दा एकीकृत समाजवादी अलग अस्तित्वको दल बन्न सक्यो तर त्यही अध्यादेशमार्फत आफ्नो पार्टी विभाजन हुने डर जसपालाई रहेको छ । मन्त्री बनाउने आश्वासनसहित महन्थ ठाकुर पक्षमा रहेका कतिपय सांसदलाई आफुतिर आकर्षित गर्न सफल भएका अध्यक्ष उपेन्द्र यादव अध्यादेशमा भएको व्यवस्था प्रयोग गर्दै मन्त्री बन्न नपाउने सांसदहरुले पार्टी विभाजन गर्छन् कि भन्ने भयमा छन् । त्यसैले उनले यो अध्यादेश खारेजपछि मात्र मन्त्रिपरिषद् विस्तारको अडान राखेका छन् । तर एकीकृत समाजवादी भने अध्यादेश खारेज नभै प्रतिस्थापन विधेयकमार्फत अघि बढाउनु पर्ने पक्षमा रहेको छ ।


प्रकाशित : २०७८ आश्विन १०, आईतवार १५:१७