काठमाडौं,आश्विन १४
नेकपा एमालेले विधान महाधिवेशनको लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ।बिहीबार एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी ललितपुरको गोदावरीमा आयोजना हुन लागेको विधान महाधिवेशनको तयारी पुरा भएको जनाएको हो ।
महाधिवेशन भोलिबाट सुरु हुँदैछ ।भोलि दिउँसो सवा १२ बजे अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन् । उद्घाटन सत्रलाई अध्यक्ष ओली लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।सम्मेलनमा ६ हजार प्रतिनिधिले भाग लिनेछन् । ३ हजार क्षमताको सनराइज हलमा नहटेका प्रतिनिधिहरुलाई टेन्टमा राख्ने व्यवस्था मिलाइएको छ । मञ्च व्यवस्थापनको काम पनि सकिएको मुल व्यवस्थापन समितिले जानकारी दिएको छ।
उद्घाटन सत्रपछि ३ वटा प्रस्ताव हलमा पेश हुनेछ । प्रतिनिधिका १७ वटा समुह बनाएर ती प्रस्तावमाथि छलफल हुनेछ ।असोज १७ समूहगत छलफलपछि आएका सुझावलाई समेटेर पार्टीको विधान पारित गर्दै महाअधिवेशन समापन हुने कार्यक्रम रहेको छ ।महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरुलाई सातदोबाटोबाट सटल बसले सम्मेलनस्थल पुर्याउनेछन् । सहभागीहरुलाई बिहानको खाना र दिउँसोको खाजाको व्यवस्था गरिएको छ । साँझको खानाका लागि भने सम्बन्धित पार्टी कमिटीले नै व्यवस्था मिलाएका छन् ।




















