सुनसरी, कार्तिक ७
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीबाट प्रभावित भएकालाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताएका छन् । देउवाले आफू काठमाडौं फर्किनासाथ आवश्यक क्षतिपूर्तिका लागि निर्णय गर्ने बताए ।
अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था हेलिकप्टरबाट निरीक्षण गरेपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराहा बाहिनी मुख्यालय पक्कली सुनसरीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वर्षासँगै आएको बाढी, पहिरोका कारण सुदूरपश्चिम र प्रदेश नं १ मा ठूलो जनधनको क्षति भएकाप्रति दुःख व्यक्त गरे।
वर्तमान सरकारले विपद्बाट प्रभावित भएकाका लागि केही न केही राहतको प्याकेज घोषणा गरिसकेको र बाँकी रहेको राहत प्याकेज काठमाडौं फर्किएपछि छिटै ल्याइने उनले विश्वास दिलाए ।
बाढीबाट अर्बौंको क्षति भएको जनाउँदै प्रधानमन्त्री देउवाले यसलाई निराकरण गर्न अल्पकालीन र दीर्घकालीन योजना नबनाइ नहुने भएकाले त्यसतर्फ पनि आफूले ध्यान केन्द्रित गरेको बताए । उनले विकास निर्माणलगायतको कार्य पछि हुँदै गर्छ तर, अहिले मानवको जीवन बचाउनु, उद्धार गर्नु, विस्थापित भएका व्यक्तिलाई स्थापित गर्नु, बसोबास नभएका व्यक्तिका लागि बसोबासको व्यवस्था गर्नु मुख्य उद्देश्य रहेको उल्लेख गरे ।


















