नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको नेतृत्वका लागि दुई पक्षबीचमा मतदान हुने संकेत देखिएको छ । आज देखि सुरू हुने लुम्बिनी प्रदेशको अधिवेशनमा सभापतिका लागि संस्थापन र संस्थापनइतर समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो । नवलपरासी पश्चिम, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठान, रोल्पा र रुकुम पूर्वमा पौडेल पक्षले सभापति जितेको छ भने रुपन्देही र बर्दियामा भने संस्थापन पक्षले सभापति जितेको छ । बाँकेमा अझै अधिवेशन भएको छैन । कांग्रेसको लुम्बिनी प्रदेश सभापतिका लागि प्रतिनिधिसभाका सदस्यसमेत रहेका भरतकुमार शाह र संविधानसभा सदस्य अमर पुनबीच प्रतिस्पर्धा हुने देखिएको छ । संसदको सार्वजनिक लेखा समितिका सभापति समेत रहेका शाह देउवा पक्षबाट र पुन रामचन्द्र पौडेल पक्षबाट सभापतिमा उम्मेदवारी दिन लागेका छन् ।




















