राजनीतिक दलहरुसँग परामर्श गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाले दलहरुसँग छलफलका लागि पर्सी बैठक बोलाइएको जानकारी दिनुभयो । बैठक साढे ११ बजेका लागि बोलाइएको छ । बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई निमन्त्रणा गरिएको छ । निर्वाचन आयोगले आगामी माघ १२ हुन गइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका बारेमा दलहरुसँग छलफल गर्नेछ । अहिले मतदाता नामावली संकलनको काम भइरहेका विषयमा पनि सर्वदलीय बैठकमा आयोगले दलहरुलाई जानकारी दिनेछ । त्यस्तै स्थानीय तहको निर्वानको मिति तय गर्ने विषयमा पनि छलफल हुनेछ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका सम्बन्धमा गत पुस ९ गते नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र २२ गते स्थानीय तहको चुनावका विषयमा प्रस्ताव गरेको थियो । तर, यस बारेमा सरकारले निर्णय गरिसकेको छैन । सरकारले निर्वाचनको मितिका बारेमा निर्णय गरेमा निर्वाचन आयोगले थप आवश्यक तयारी अघि बढाउने जानकारी गराइसकेको छ । पाँच दलीय गठबन्धनको सरकारमा निर्वाचनका विषयमा आवश्यक छलफल अहिलेसम्म हुन सकेको छैन । यसअघि २०७४ वैशाख र असार गरेर दुई चरणमा स्थानीय तहको निर्वाचन भएको थियो ।





















