
सरकारले आगामी २०७९ जेठ ४ गते एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारीसँग आज बालुवाटारमा भएको छलफलमा आगामी जेठ ४ गते स्थानीय तह निर्वाचन गर्ने टुंगो भएको हो । प्रधानमन्त्रीसँगको छलफलका क्रममा जेठ ५ गतेको डेडलाइन क्रस नहुने गरी प्रमुख आयुक्त दिनेश थपलियाले जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेका थिए । आयोगको प्रस्ताव अनुसार प्रधानमन्त्री देउवा निर्वाचन गराउन तयार भएका छन् । उनले जेठ ४ गतेको निर्वाचन मितिलाई मन्त्रिपरिषद्बाट निर्णय गराउने बताउँदै आयोगलाई आवश्यक तयारी थाल्न पनि निर्देशन दिएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रस्ताव अनुसार नै प्रधानमन्त्री जेठ ४ गते स्थानीय निर्वाचन गराउन तयार भएको बताए । यस अघि निर्वाचन आयोगले आगामी जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने प्रस्ताव सरकारसमक्ष प्रस्ताव गरेको थियो । निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भइरहेको छलफल भएको थियो ।