लुदअ, काठमाडौं
सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच बिहीबार बसेको दुई चरणको बैठकमा ठोस सहमति नभएपनि छलफल सकारात्मक ढंगले अघि बढेको दुवै पक्षका नेताहरूले बताएका छन् । बैठकमा सहभागी नेताका अनुसार देशको गिजोलिएको राजनीतिलाई निकास दिन काँग्रेस र एमाले फेरि एकै ठाउँमा उभिनुपर्ने बेला आएको दुवै पार्टीका नेताहरूले निष्कर्ष निकालेका हुन् ।
दुई पार्टी मिल्दा संविधान जारी भएको इतिहासलाई स्मरण गर्दै मिलेनियम च्यालेन्स कर्पोरेसन ९एमसीसी० सम्झौता पारित गर्ने विषयमा देखिएको अन्योल हटाउन पनि दुई दलले फेरि सहकार्य गर्नुपर्ने अवस्था आएको निष्कर्ष दुवै दलका नेताहरूले निकालेका छन् ।
बिहीबार साँझ बसेको बैठकमा नेपाली काँग्रेसको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए भने नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ रहेका थिए । बालुवाटारमा दुई पक्षीय छलफलका साथै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच करिब २० मिनेट वान टु वान वार्ता पनि भएको थियो ।
बैठकमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग एमसीसी पारित गर्नका लागि सहयोग मागेका थिए । बैठकमा सहभागी एक नेताले प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै रातोपाटीलाई भने, ुहामी सरकारमा हुँदा होस् या प्रतिपक्षमा बस्दा होस्, एमसीसीबारे हाम्रो धारणा एउटै छ । तपाईंको सरकार हुँदा पनि मेरो कुरा यही नै थियो । अहिले पनि यही छ । यो केवल आर्थिक सहयोगको कुरा मात्र होइन । अन्तर्राष्ट्रिय सम्बन्धको विषय पनि हो । नेपालले यस्तो विषयमा खेल्नु हुँदैन । तर यहाँ फोहोरी खेल भयो । मैले प्रचण्डजीलाई पनि यही कुरा भनेको छु ।ु
अब यस्तो राष्ट्रिय महत्त्वका विषयमा काँग्रेस र एमाले एकै ठाउँमा उभिनुपर्ने देउवाको भनाइ थियो । दुई पार्टी नमिल्दा अरुले आफूहरूलाई प्रयोग गरेको भन्दै अब ुमिल्दा पनि काँग्रेस–एमाले मिल्नुपर्ने र लड्दा पनि काँग्रेस–एमाले नै लड्नुपर्नेु कुरा देउवाले राखेका थिए । देउवाको भनाइ पछि एमाले अध्यक्ष ओलीले पनि सोही सेरोफेरोमा नै आफ्ना धारणा राखेका थिए ।
यता, अरू काँग्रेस नेताहरूले संसद्मा एमालेको पोजिसनको विषयमा कुरा उठाएका थिए । एमसीसी पारित गर्ने विषयमा काँग्रेस र एमाले एकै ठाउँमा भए पनि अहिलेकै अवस्थामा एमालेले हामी संसदीय प्रक्रियामा सामेल छैनौँ भन्ने तर भोलि मतदानका क्रममा संसद्मा एमाले उपस्थित छ भनेर यो फेल हुने अवस्था आउन सक्ने कुरामा काँग्रेस नेताहरूले चासो व्यक्त गरेका थिए ।



















