लुदअ फागुन १३, कास्की
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा सत्तारुढ गठबन्धनलाई सात दिन उठ्नै नसक्ने गरी पछार्ने चेतावनी दिनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले ‘गठबन्धनमा सहमति, एमसीसी पास हुने, गठबन्धन पनि नटुट्ने’ समाचार आएको उल्लेख गर्दै उनीहरूलाई एकमुष्ट रूपमा उठ्नै नसक्ने गरी पछार्ने बताउनुभएको हो ।
आज शुक्रवार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उहाँले सत्तारुढ गठबन्धन आउँदो चुनावमा धुलोपिठो हुने भयले पनि नटुट्ने तर्क गर्नुभयो । एमालेले गठबन्धन दलहरूसँग वान बाई वान लड्नुभन्दा एकमुष्ट लड्न चाहेको उल्लेख गर्दै अध्यक्ष ओलीले पाँच वटै दललाई एकमुष्ट रूपमा चुनावमा लड्न चुनौती दिनुभयो । उहाँले आफ्नो दल जनताको पवित्र मतबाट विजयी हुने दाबीसमेत गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘गठबन्धन टुट्यो भने बिचराहरू धुलोपिठो हुन्छन् ।
पाँच वटै एकैचोटि आऊ । वैशाख ३० गतेको चुनाव सार्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाइयो । गठबन्धन टुटाएर एक्लै चुनाव लड्ने कसैको हिम्मत छ ? ठिक छ, वैशाख ३० गतेसम्म एक झट्का, एक पटक हामी त्यहाँ सात दिन नउठ्ने गरी पछार्छौँ । यिनीहरूको जस्तो सडकमा ढुङ्गा हानेर होइन, जनताको पवित्र मतबाट ।’
अध्यक्ष ओलीले एमसीसी पास गर्नका लागि पर्याप्त मत सरकारसँग रहेको बताउनुभयो ।



















