कपिलवस्तु, ०६ जेठ
कपिलवस्तुको बाणगंगा नगरपालिकाले पहिलो महिला उप–प्रमुख पाएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बाणगंगाले महिला उप–प्रमुख पाएको हो । संविधानमा नगरको प्रमुख, उपप्रमुख मध्ये एक जना महिला अनिवार्य हुनुपर्ने भए पनि गठबन्धनका कारण यस अघिको स्थानीय तहको निर्वाचनमा बाणगंगाको उप–प्रमुख महिला निर्वाचित हुन सकेनन् ।
हालै सम्पन्न निर्वाचनमा एमालेबाट उप–प्रमुखमा रिता कुमारी चौधरी निर्वाचित हुनुभएको छ । थारुले कांग्रेसकी उम्मेद्वार तारावती चौधरीलाई फराकिलो मतान्तरले पराजित गर्दै आफ् निर्वाचित हुनुभएको हो । उप–प्रमुख चौधरीले पदभार समेत ग्रहण गरिसक्नुभएको छ । पदभार ग्रहण गर्दै थारुले संविधानले दिएका कुरालाई मध्यनजर गर्दै पछाडी परेका जाती, समुदायको हकहितमा काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
वि.स. २०४१ सालमा बाणगंगा वडा नं. २ पिपरामा जन्मिनुभएकी चौधरी सामान्य परिवारमा जन्मिनुभएको हो । सामान्य परिवारमा जन्मिनुभएकी थारु २०५२ साल देखिनै पार्टीको जनवर्गीय संगठन अनेरास्ववियुमा संगठित भई राजनितिमा होमिनुभएको हो । हाल बाणगंगा नगरपालिका वडा नं. ६ मनोहरापुर बसोवास गर्दै आउनुभएकी चौधरी करिव १४ बर्ष सामाजिक क्षेत्रमा काम गर्नुभयो । विभिन्न सामाजिक संघ सस्था, सामुदायिक वन, महिला सहकारीमा आवद्ध भई महिला, बालवालिका, ज्येष्ठ नागरिक तथा विपन्न परिवारको सामाजिक तथा आर्थिक समृद्धिका लागि अहम भुमिका खेल्नुभएको थियो ।
वि.स. २०६३ सालमा पार्टी सदस्यता लिनुभएकी थारु जिल्ला सदस्य हुंदै अनेमसंघ जिल्ला सदस्यमा एक कार्यकाल खानुभयो । १० बर्ष पार्टीको जिल्ला कमिटि सदस्य भई जिम्मेवार सम्हाल्नुभएकी थारु २०७४ सालको संसदीय चुनावमा समानुपातिक उम्मेद्वारको रुपमा सक्रियताका साथ लाग्नुभयो ।
विपन्न महिलाहरुका लागि प्रसतुी सेवामा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, नगरमै स्तरीय बर्थिङ सेन्टर सञ्चालन गर्ने, उच्च शिक्षाको प्राविधिक विद्यालय तथा छात्रवृत्ति प्रदान गर्ने, महिला सम्बन्धी विभिन्न सचेतनामुलक तालिम तथा चेतनामुलक कार्यक्रम मार्फत सचेत गराई महिलाहरुको क्षमता विकास गराउनमा आफ्नो अहम भुमिका रहने बताउनुभयो ।
चौधरीले मजदुरहरुको हक अधिकार अनुसारको पारिश्रमिक सुनिश्चित गर्ने, एक घर एक धारा खानेपानीको ब्यबस्था गर्ने, बाटाघाटा स्तरउन्नती तथा कालोपत्रे गर्ने, ढल निकास, नहर सिंचाईको ब्यबस्था तथा रोजगारको अवसर सिर्जना गरि महिलाहरुलाई विशेष अवसर प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै अर्को महत्वपुर्ण पक्ष अपांगता भएका व्यक्ति, दलित, महिला, गर्भवती महिला, अशक्त, जनजाती, थारु समुदाय सम्पुर्णलाई समावेश गर्दै लक्षित वर्गका विभिन्न कार्यक्रम सञ्चालन गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।
त्यसैगरी राजापनीमा नगरस्तरीय थारु संग्रालय निर्माण गर्ने बताउदै मौसमी तथा बेमौसमी तरकारीका लागि पकेट क्षेत्रको विकास गर्ने बताउनुभयो । त्यस्तै विपद ब्यबस्थापनमा ध्यान दिने, शवदह निर्माणका लागि पहल गर्नुका साथै राजापानी, मधुवनधाम, कपिलधाम लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र संवद्र्धनका लागि अहोरात्र खट्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।




















