हरि आचार्य, कपिलवस्तु
सरकारले आगामी मंसिर ४ गते संघिय र प्रदेश निर्वाचन एकैपटक गर्ने गरि तयारी शुरु गरेको छ । यससंगै स्थानिय तहदेखि गठबन्धन गरेका दलहरु एक भएका छन् भने अर्कोतर्फ नेकपा एमाले, रा.प्र.पा र स्वतन्त्र समुह समेत चुनावी तयारी गरिरहेका छन् । यस अगाडी माओवादी बाट लगातार संसद बन्दै आएका टोपबहादुर रायमाझि लाई गठबन्धन चुनौति जस्तै छ अर्कोतर्फ स्थानीय निर्वाचनमा गठबन्धनविरुद्ध एक्लै भिडेर अर्घाखाँचीमा पार्टीका उम्मेदवारलाई जिताएर एमालेलाई पहिलो बनाएका नेकपा एमाले सचिव टोपबहादुर रायमाझी आउँदो प्रतिनिधिसभा निर्वाचनमा फेरि उम्मेदवार बन्दैछन् । गठबन्धन लगाएतका दलहरु यसपाली जसरी भएपनी रायमाझी हराउ अभियानमा छन् । अर्घाखाँची प्रतिनिधि सभातर्फ एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो ।
विक्रम संवत् २०६४, २०७० र २०७४ सालमा माओवादीबाट चुनाव जितेका रायमाझी आगामी प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनमा एमालेबाट उम्मेदवार बन्ने पक्का जस्तै छ । ३ पटक लगातार निर्वाचन जितेर ‘ह्याट्रिक’ गरी १५ वर्ष जिल्लामा एकछत्र जस्तै ‘राज’ गरेका रायमाझीसँग आउँदो निर्वाचनमा को भिड्लान् भन्ने चर्चा/परिचर्चा शुरू भएको छ । स्थानीय चुनावमा सबैभन्दा पहिला जिल्लामा गठबन्धन गरेका सत्तारुढ दल आउँदो निर्वाचनमा रायमाझीसँग भिड्न कसलाई अगाडि बढाउने भन्नेमा अन्योलमा छन् । एमालेबाट प्रतिनिधि सभातर्फ रायमाझी मात्रै देखिएपछि कांग्रेसमा ४ जनाभन्दा बढी आकांक्षी छन्, जसले गर्दा टिकट वितरणमा समस्या हुने देखिन्छ ।
कांग्रेसबाट यसअघि रायमाझीसँग पराजित रामबहादुर बिसी, केन्द्रीय सदस्य पुष्पा भुसाल, पूर्व राज्यमन्त्री रेवती भुसाल र महाधिवेशन प्रतिनिधि लेखनाथ पोखरेलले टिकटका लागि ‘लबिङ’ शुरू गरिसकेका छन् । गत निर्वाचन २०७४ सालमा पूर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझी ५० हजार ३८५ मतका साथ विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका बिसीले ३१ हजार ९४१ मत ल्याएका थिए ।
रायमाझी र बिसीको मतान्तर १८ हजार ४४४ मत थियो । कांग्रेस अर्घाखाँचीका महाधिवेशन प्रतिनिधि तथा प्रतिनिधि सभातर्फ आकांक्षी लेखनाथ पोखरेलले जिल्लामा अब नयाँ अनुहार खोजेको दाबी गर्छन् । यद्यपी गठबन्धन भएपनी कांग्रेसमा देखिएको गुटगत प्रवृद्धिलाई अवसर लिएर असन्तुष्ट बनाउने र चुनाव जित्ने दाउमा रायमाझी रहेका छन् ।




















