निर्वाचन प्रणाली र प्रदेश संरचनामा पुनर्विचार आवश्यक : महामन्त्री थापा

[sharethis-inline-buttons]

लुदअ, अर्घाखाँची
नेपाली कांग्रेसका महामन्त्री गगनबहादुर थापाले निर्वाचन प्रणाली र प्रदेशका संरचनामा पुनर्विचार आवश्यक रहेको बताउनुभएको छ । समानुपातिक निर्वाचन प्रणाली र प्रदेशका संरचना राज्यले थेग्न नसक्ने अवस्थामा पुगेकाले संरचनाको ढाँचामा पुनः मूल्याङ्कन आवश्यक रहेको उहाँले बताउनुभएको हो ।

कांग्रेस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनको शुक्रबार उदघाटन गर्दै नेता थापाले सो कुरा बताउँदै उहाँले अर्को निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने दाबी गर्दै सत्ताका लागि दलले जे पनि गर्न तयार हुन्छन् भन्ने आरोपबाट मुक्त गर्न पनि यो आवश्यक रहेको बताउनुभयो । धर्म, जातको आधारमा देशलाई विखण्डन गर्न नहुने बताउँदै देशलाई समाल्ने पार्टी कांग्रेस मात्र भएको दाबी गर्नुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पूर्वराजा ज्ञानेन्द्र शाह मठमन्दिर, पूजापाठमा जानेगरेको स्मरण गर्दै उहाँलाई सोही नै उपयुक्त रहेको बताउँदै फेरि राजा बन्ने सपना नदेख्न आग्रह गर्नुभयो । पार्टीमा गुट उपगुट झाङ्गिएको बताउँदै गुट कम गर्न कांग्रेसले अधिवेशनमा समूह र चिट बनाएर निर्वाचन लड्न नपाउने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।

नेता भण्डारीले जनमतद्वारा दुईतिहाइ ल्याएर सविधान संसोधन गरी आफूअनुकूल सिंहदरबारमा आउन पूर्व राजालाई चुनौती दिनुभयो । केन्द्रीय सदस्य मानबहादुर विक, पुष्पा भुसाल, चन्द्र केसी, नैनसिंह महर, लुम्बिनी प्रदेश सभापति अम्बरसिंह पुनलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यसैबिच अर्घाखाँचीको शितगंगावासीहरुले नेपाली महामन्त्री गगन थापालाई स्वागत गर्दै बिभिन्न क्षेत्रमा बिकासका लागि पहल गर्न अनुरोध गरेका छन । जिल्ला सम्मेलनमा सहभागि हुन अर्घाखाँची पुग्नुभएका महामन्त्री थापालाई शितगंगामा स्वागत तथा कार्यक्रता भेटघाट कार्यक्रम गरि ज्ञापन पत्र समेत बुझाइएको हो ।


प्रकाशित : २०८० मंसिर ८, शुक्रबार १९:१७