हरि आचार्य, कपिलवस्तु
मानवअधिकार एलाईन्स कपिलवस्तुले मानवअधिकार कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्न र आफ्नो पालिका तथा जिल्ला भित्र मानवअधिकारको अवस्था सुदृढ बनाउन तथा मानवअधिकारमैत्री योजना निर्माण गर्न सुझाव दिंदै बाणगंगा नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । मानव अधिकार एलाईन्सका केन्द्रिय सदस्य रोमकान्त घिमिरे, जिल्ला अध्यक्ष थानेश्वर अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन कपिलवस्तुका अध्यक्ष टिकाराम पौडेल लगायतको टोलीले नगर प्रमुख चक्रपाणि अर्याललाई उत्त m ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा दिगो विकासका सूचकहरु हासिल गर्दै सबै नागरिकको जीवनको रक्षा गर्न, स्वतन्त्रता र न्याय सुनिश्चित गर्न मानवअधिकार घोषणा पत्र जारी भएको ७५ वर्षको अवसरमा नगर प्रमुखको ध्यानाकर्षण समेत गराईएको छ ।
त्यस्तै ज्ञापन पत्रमा ‘मानवअधिकारको विश्वव्यापी घोषणा पत्र जारी भएको ७५ वर्ष पुरा भएको र नेपालको सन्दर्भमा यसको मुख्य सन्देश भनेको नागरिकका लागि संवैधानिक रुपमा निर्दिष्ट गरिएका मौलिक हकहरुको निशर्त कार्यान्वयन हो र प्रत्येक व्यक्तिमा मानवअधिकारको प्रत्याभूति हुनु हो’ । उल्लेख गरिएको छ ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात संविधानतः जीवन, स्वतन्त्रता, समानता, सामाजिक न्यायको प्रत्याभूति सबैका लागि हुनुपर्ने प्रावधानहरु सुनिश्चित गरिएका छन् भने बालबालिका, दलित, अल्पसंख्यक, महिला, ज्येष्ठ नागरिक लगायतका वर्गहरुका लागि विशेष हकको व्यवस्था गरिएको र समृद्ध र सुखी अधिकार सम्पन्न नेपाली समाज निर्माण गर्नु हो । त्यस्तै स्वच्छ वातावरण, खाद्य सुरक्षा जस्ता प्रगतिशील अधिकारहरु समेत संविधानमा व्यवस्था गरिएको हुँदा मानवअधिकारको दृष्टिकोणले हाम्रो संविधानलाई उत्कृष्ट मानिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
नेपालमा जलवायू परिवर्तनको असर, नियमित प्रकोपहरु, महामारी, सडक दुर्घटना, हिंसा, हत्या, जस्ता घटनाहरुको संख्यामा कमी नआएको, नागरिकहरु विविध कारणहरुले असुरक्षित भएको, मनोसंकट बढ्दो रुपमा देखिएको छ जसका कारण दैनिक औसत १६ जनाले आत्महत्या गरिरहेको ज्ञापन पत्रमा समावेश गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख अर्यालले मानव अधिकारको बिषयमा नगरपालिका सकारात्मक रहेको बताउँदै ज्ञापन पत्रमा समावेश सुझावहरु मनन गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।




















