
लुदस, दाङ
दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक सयभन्दा बढी युवाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । रिपोर्टर्स क्लब दाङमा पत्रकार सम्मेलन गरी उनीहरूले पार्टी परित्याग गरेको जानकारी गराएका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टीका निर्वाचन क्षेत्र नं. २ का सदस्य विजय केसीले पार्टी सभापति रवि लामिछानेमाथि लागेका विभिन्न आरोप, स्टन्ट बाजीलगायत कुराले युवालाई भ्रममा पारेको भन्दै सभापतिबाट देशको समृद्धि नहुने बताए ।
उनले कार्यकर्तालाई अव्यवहारिक तथा अमानवीय तरिकाले जाइलाग्न बाध्य बनाएका कारणले आफूहरूले पार्टी परित्याग गरेको दावी गरे।पार्टीका लागि आफूहरू दिनरात नभनी लागेको भन्दै अहिले पार्टीले आफूहरूलाई अन्याय गरेको उनले आरोप लगाए। पार्टी अराजक र दमनकारी शैलीमा अगाडि बढेको आरोप लगाए। उनले पार्टीको जिम्मेवारी योग्यता र क्षमतामा नभई आफ्ना मान्छेलाई दिँदा पुरानै पार्टीको चरित्र रास्वपाले देखाएको दावी गरे । पार्टीका तुलसीपुर नगर सभापति मेघराज केसी लगायत बोलेका थिए ।

