लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रविधिमैत्री बन्नुपर्ने बताएका छन । प्रहरी प्रशासनको पहिलो प्राथमिकताका रूपमा अनुसन्धानलाई सशक्त बनाउँदै जनविश्वास आर्जन गर्ने तथा परिणाममुखी योजना तर्जुमा गर्न आवश्यक रहेको उनको धारणा छ ।
बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा भएको प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी उद्घाटन सत्रमा मुख्यमन्त्री आचार्यले नेपाल प्रहरी अपराध अनुसन्धानका क्षेत्रमा अब्बल भएको बताए । प्रहरी अनुसन्धानका केही घटनामा परिणाम आउन नसकेको हुनसक्ने तथापि, अधिकांश अपराध अनुसन्धानमा नेपाल प्रहरीले प्रभावकारी नतिजा ल्याएको उनले उल्लेख गरे ।
मुख्यमन्त्री आचार्यले अनुसन्धान प्रक्रियालाई अझ परिस्कृत गर्दै नयाँ ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।प्रहरी गर्ने अध्ययन, अनुसन्धानको काममा प्रविधिलाई जोड्न जरुरी छ । अहिले धेरै अपराध साइबर माध्यमबाट हुन थालेका छन्, तसर्थ अनुसन्धान प्रविधि मैत्री हुनुपर्छ उनले भने प्रहरीले अध्ययन, अनुसन्धानको लागि टेक्नोलोजीको प्रयोग बढाउन जरुरी छ ।लुम्बिनी प्रदेशका ६ जिल्लाहरू भारतसँग सीमाना जोडिएको र खुला सीमा भएकाले अपराध अनुसन्धानमा थप चुनौती रहेको उनको भनाई छ । सीमाबाट अपराधीहरू सजिलै आवतजावत गर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सीमा सुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड छ । लागूऔषध ओसारपसार, साइबर अपराध, सीमा दुरुपयोग र अन्य नवीनतम सुरक्षा चुनौतीहरूको गम्भीर विश्लेषण आवश्यक रहेको मुख्यमन्त्री आचार्यले बताए ।उनले खुला सीमाका कारण राजस्व चुहावट भइरहेको र तस्करीलाई निरुत्साहित गर्न प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने बताए । कुखुरा, अण्डा, चल्ला, दूधलगायतका वस्तु खुला सीमाबाट भित्रिने कारण नेपाली किसानहरू मर्कामा परेको उल्लेख गर्दै उनले नियन्त्रणका लागि प्रहरी प्रशासनले प्रभावकारी योजना बनाउनुपर्ने सुझाव दिए ।
गोष्ठीमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री आदेश कुमार अग्रवाल, प्रदेश मुख्य न्यायाधिवक्ता यामलाल खनाल, नेपाल प्रहरीका अपराध अनुसन्धान विभाग प्रमुख कुबेर कडायत लगायत नेपाल प्रहरीका उच्च अधिकारीहरूको उपस्थिति रहेको छ ।कार्यक्रममा अपराध अनुसन्धानका चुनौतीहरू, अनुसन्धान प्रविधि र सुरक्षा रणनीतिबारे विस्तृत छलफल हुने जनाइएको छ ।





















