काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ । वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ शुक्रवार विहान तीनतले चीर ठड्याएपछि देशभर फागु ९होली० पर्व शुरु भएको मान्ने गरिन्छ ।
आज बिहान ८ . ३३ बजेको शुभ साईतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याए र एकअर्कालाई अबिर दलेर होली पर्व शुरु भएको जनाउ दिएका हुन् । आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रङ्गीचङ्गी कपडा झुन्ड्याएर होली शुरु भएको जनाउ दिने गरिन्छ ।
चीर ठड्याएपछि मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रुपमा चीर ठड्याइएको बताए । उनले चीर ठड्याइसकेपछि विधिवत रुपमा होली पर्व शुरु भएको मानिने जानकारी दिए । होली पर्व असत्यमाथि सत्यको जितको प्रतिकका रुपमा पनि मान्ने गरिएको उनको भनाई छ ।
यस वर्षको होली पर्वको मुख्य दिन फागुन २९ र १ गते परेको छ । २९ गते हिमाली तथा पहाडी जिल्लामा र १ गते तराई जिल्लामा होली पर्वको सार्वजनिक बिदा दिइएको छ ।



















