लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले योजनाबद्ध विकासलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाएको बताएका छन् ।धानखोला देउराली हर्रे चाक्ला मोटरबाटो कालोपत्रे सडक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विकास निर्माणका कामलाई योजनाबद्ध रूपमा अघि बढाउन प्रमुख प्राथमिकतामा राखेको स्पष्ट पारे ।उहाँले प्रदेश सडक गुरु योजना निर्माण गरिएको र सोही प्राथमिकताको आधारमा सडक क्षेत्रमा लगानी गरिने जानकारी दिए । परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन । साना र टुक्रे योजनालाई निरुत्साहित गर्न थालेका छौँ, उनले भने साना सडकमा स्थानीय सरकारले लगानी गर्ने र मझौला सडकमा प्रदेश सरकारले लगानी गरेर सम्पन्न गर्ने नीति लिएका छौँ ।
मुख्यमन्त्री आचार्यका अनुसार लुम्बिनी प्रदेशमा करिब ३ हजार सडक छन् । अहिले तीमध्ये ७ सय सडकलाई प्रदेश सरकारले हेर्नेगरी योजना अघि बढाइएको छ ।धानखोला देउराली हर्रे चाक्ला मोटरबाटो सडकलाई बृहत् सडकको रूपमा प्राथमिकतामा राखिएको र संघीय सरकारसँग समेत पहल भइरहेको जानकारी उनले दिए ।
उक्त सडक प्रदेश राजधानीसँग जोड्ने सहज मार्गको रूपमा रहने र नागरिकलाई पहुँच सुनिश्चित गर्ने बताए ।
सरकारले बनाउने पूर्वाधारहरू नागरिकको जीवनस्तर उकास्नका लागि केन्द्रित हुनुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए ।
शितगंगा नगरपालिका ११ का वडा अध्यक्ष नवराज भुसालको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दाङ, कपिलवस्तु र अर्घाखाँचीको संगमस्थल क्षेत्र पर्ने भएकाले विकास निर्माणको कामलाई थप उचाइमा पुर्याउन जोड दिइएको हो । कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष भीमबहादुर केसी, वडा नम्बर १० का अध्यक्ष केशव बेल्वासे, स्थानीय अगुवा दिनेश पुन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


















