भिजिट भिसा प्रकरणमा विपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान राखे उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग गर्न दबाब बढेको छ। विपक्षी दलहरुले भिजिट भिसामा मानिस विदेश पठाउँदा सेटिङ गरेर पैसा उठाएको आरोप गृहमन्त्री लेखकमाथि लागेपछि यस अगाडि नै मानव तस्करीमा मुछिएको भन्दै उपसभामुखको राजीनामा माग गर्नुपर्ने अडान राख्न कांग्रेसलाई दबाब बढेको हो।
विपक्षीले भिजिट भिसामा मानिस विदेश पठाउँदा सेटिङ गरेर पैसा उठाएको आरोप गृहमन्त्रीमाथि लागेको छ। यसैगरी गृह मन्त्रालयको आडमा मुलुकमा मानव तस्करी भइरहेको उनीहरुको दाबी छ। यसै प्रकरणमा अध्यागमनका विमानस्थल प्रमुख तीर्थ भट्टराई लगायतलाई नियन्त्रणमा लिएर अख्तियारले सोधपुछ गरिरहेको छ।
रास्वपा, माओवादी केन्द्र र राप्रपाले गृहमन्त्रीको राजीनामा माग गरेपछि रास्वपाबाट उपसभामुख बनेकी राना पनि विवादमा मुछिएकाले उनले पनि राजीनामा दिनुपर्ने कुरा सतहमा आएको छ। यस अगाडि उपसभामुखले गैर सांसदलाई अमेरिका जान लागेका लागि भिसाका डेट चाँडो राखिदिन अमेरिकी दूतावासलाई पत्राचार गरेको थिइन्। ०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७ औं सत्रमा भाग लिन जाने क्रममा उपसभामुखले असम्बन्धित व्यक्तिका लागि दूतावासमा पत्र लेखेकी थिइन्। जसमा ४ जना पुरुष र एकजना महिला थिए। यी पाँचैजना यो कार्यक्रमसँग असम्बन्धित व्यक्ति हुन्। उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्ती मगर र धनप्रसाद गुरुङ पनि जान लागेको भन्दै उनले काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्राचार गरेकी थिइन्। उनले आफूलाई तिनीहरूमध्ये एकजनाले विशेष आग्रह गरेकाले पत्र लेखेको स्पष्टीकरण दिएकी थिइन्। सोहि विषयलाई लिएर पटक-पटक नेपाली कांग्रेसले संसदमा राजीनामा माग गर्दै आएको थियो।


















