
हरि आचार्य, कपिलवस्तु
एस.ई.ई. परिक्षा २०८१ मा शत प्रतिशत सहित उत्कृष्ट नतिजा निकाल्न सफल कपिलवस्तुको वाणगंगा नगरपालिका ४ गजेहडा स्थित बालज्योती अंग्रेजी आवासीय माध्यमिक विद्यालयले एसईई उतीर्ण विद्यार्थीहरुहरुलाई सम्मान गरेको छ । स्थापनाकाल देखिनै शत प्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल उक्त विद्यालयले १२ जना विद्यार्थीहरुलाई अभिनन्दन समारोहको आयोजना गरि खादा, टिका तथा सम्मान पत्र सहित सम्मान गरिएको हो ।
परीक्षामा सहभागिता जनाएका १२ जना सम्पूर्ण विद्यार्थी उत्तीर्ण भएका छन्, जसमा १ जना विद्यार्थी दर्शन पौडेलले सर्वोत्कृष्ट ३.९७ (४ जिपिएको नजिक) जिपिए हासिल गर्दै विद्यालयको शैक्षिक यात्रामा सफलता प्राप्त गरेका छन् । त्यस्तै ५ जना विद्यार्थीले ‘ए प्लस’, ५ जना विद्यार्थीले ‘ए’ र २ जना विद्यार्थीले ‘बि प्लस’ ग्रेड प्राप्त गरेका छन् ।
अभिनन्दन समारोहमा स्वागत मन्तब्य राख्दै विद्यालयका प्राचार्य सर्वेन्द्रदेव खनालले उतीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै उत्कृष्ट नतिजा प्रति खुसी व्यक्त गर्नुभयो । विद्यालयको यस नतिजाले उत्साहित बनाएको र उत्कृष्ट नतिजा प्राप्त गर्न अहोरात्र खट्नुहुने शिक्षक, कर्मचारी, अभिभावक सम्पुर्णलाई आभार व्यक्त गर्नुभयो ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सरोज खनालले यो नतिजा प्राप्त गरिरहदा यसको दिगोपनाका लागि चुनौती पनि थपिएकाले आगामी दिनमा अझ मेहनत गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै यसपटक पनि विद्यालयले उत्कृष्ट नतिजा ल्याएर खुसी छरेको बताउँदै आगामी दिनमा अझै राम्रो गराउने बताउनुभयो । अध्यक्ष खनालले सम्पुर्ण विद्यार्थीहरुको सफल शैक्षिक भविष्यको कामना गर्दै विद्यालयको शिर उचो राख्ने विश्वास व्यक्त गर्नुभयो ।
सर्वोत्कृष्ट अंकका साथ उतीर्ण विद्यार्थी दर्शन पौडेलले मन्तब्य राख्दै बालज्योती यो क्षेत्रकै उत्कृष्ट शैक्षिक संस्था रहेको र विद्यालयले विद्यार्थीमैत्री वातावरणमा अध्यापन गराएकाले आफुहरु सफल रहेको बताउनुभयो ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष सरोज खनालको अध्यक्षता, प्राचार्य सर्वेन्द्रदेव खनालको स्वागत तथा सहायक प्रधानाध्यापक अजय पाण्डेको संचालनमा सम्पन्न कार्यक्रममा शिक्षक विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।