हरि आचार्य, कपिलवस्तु
भगवान् गौतम बुद्धको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको स्थल तिलौराकोटको पहिचान, इतिहास र सांस्कृतिक महत्त्वलाई प्रचारप्रसार गर्ने उद्देश्यले कपिलवस्तुमा ‘प्राचीन कपिलवस्तु म्युजिक कन्सर्ट २०८३’ आयोजना हुने भएको छ ।
गौतम बुद्धले आफ्नो जीवनका २९ वर्ष बिताएको प्राचीन शाक्य राज्यको राजधानी तथा उहाँको बाल्यकाल र युवावस्था बितेको ऐतिहासिक स्थल तिलौराकोटको महत्त्वलाई नयाँ पुस्तामाझ परिचित गराउने र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने लक्ष्यसहित उक्त कार्यक्रम आयोजना गर्न लागिएको आयोजक ए एण्ड ए इभेन्ट्सले जनाएको छ ।
श्रीपेच रिसोर्टमा आयोजित पत्रकार सम्मेलन मार्फत कार्यक्रमबारे जानकारी दिँदै आयोजक संस्थाले संगीत र मनोरञ्जनलाई ऐतिहासिक सम्पदाको प्रचारप्रसारसँग जोडेर तिलौराकोटलाई थप चर्चामा ल्याउने प्रयास गरिएको जनाएको हो । ऐतिहासिक सम्पदाको संरक्षण, प्रचारप्रसार तथा पर्यटन विकासका लागि यस्ता सिर्जनात्मक कार्यक्रम प्रभावकारी माध्यम बन्न सक्ने आयोजकको विश्वास छ ।
कन्सर्टमा नेपाली सांगीतिक क्षेत्रको चर्चित तथा लोकप्रिय एक्सिस ब्यान्ड, चर्चित र्यापर भ्योमा, बसन एण्ड द क्रु तथा ग्रुभी ल्याब डान्स स्टुडियो लगायतका कलाकार तथा समूहको विशेष प्रस्तुति रहने ए एण्ड ए इभेन्ट्सका सञ्चालक अनमोल सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रममा संगीतप्रेमी दर्शकले विभिन्न विधाका सांगीतिक तथा नृत्य प्रस्तुतिको मनोरञ्जन लिन सक्नेछन् । कार्यक्रम सफल पार्नका लागि सिद्धिपुर युथ सोसाईटि सहयोगी संस्थाको रुपमा रहेको छ ।
आयोजकका अनुसार कार्यक्रम २०८३ सालको पुस महिनामा साँझ ४ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी हुने दर्शकको सहजता र सुरक्षालाई ध्यानमा राख्दै कार्यक्रमस्थलबाट घरसम्म पुग्न यातायातको समेत व्यवस्था गरिने इभेन्ट म्यानेजर एलेक्स विक्रम शाहीले जानकारी दिनुभयो ।
तिलौराकोट केवल एउटा पुरातात्त्विक स्थल मात्र नभई भगवान् गौतम बुद्धको जीवन, दर्शन र इतिहाससँग जोडिएको महत्त्वपूर्ण सम्पदा पनि हो । यस्ता कार्यक्रममार्फत यस क्षेत्रको ऐतिहासिक गरिमा उजागर हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने, स्थानीय पर्यटन व्यवसायलाई प्रोत्साहन मिल्ने र कपिलवस्तुको पहिचानलाई थप स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
संगीत, संस्कृति र इतिहासलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना हुन लागेको ‘प्राचीन कपिलवस्तु म्युजिक कन्सर्ट २०८३’ ले कपिलवस्तुको सांस्कृतिक तथा पर्यटकीय प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास आयोजकले लिएको छ ।




















