लुदस, कपिलवस्तु । मानव अधिकार एलायन्स कपिलवस्तु जिल्लाको पूर्ण बैठक आज जितपुरमा सम्पन्न भएको छ। बैठकले विगतका गतिविधिहरूको समीक्षा गर्दै आसन्न प्रदेश भेलाका लागि कपिलवस्तु जिल्लाबाट अध्यक्ष रिता थापा बोहोरा र उपाध्यक्ष अजय सिंह चौधरीलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय गरेको छ।
बैठकमा नेकपा ९एमाले० कपिलवस्तु जिल्ला कमिटी सदस्य तथा मानव अधिकार एलायन्सका जिल्ला इन्चार्ज थानेश्वर अधिकारीले मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा एलायन्सले निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँले संगठनलाई अझ प्रभावकारी बनाउन जिल्लाका सबै पालिकामा कमिटी गठन गरी सक्रिय रूपमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो।
मानव अधिकार एलायन्सका पूर्व केन्द्रीय सचिव रोमकान्त घिमिरेले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन एलायन्सले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो। उहाँले मानव अधिकारको प्रत्याभूति सुनिश्चित गर्न निर्वाचन प्रक्रियाको कडा अनुगमन आवश्यक रहेको उल्लेख गर्नुभयो। सोही अनुसार बैठकले कपिलवस्तु जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिताको अनुगमन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।
बैठक मानव अधिकार एलायन्स कपिलवस्तुका अध्यक्ष रिता थापा बोहोराको अध्यक्षतामा, पूर्व केन्द्रीय सचिव रोमकान्त घिमिरेको प्रमुख आतिथ्यता तथा जिल्ला इन्चार्ज थानेश्वर अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो। बैठकको सञ्चालन उपाध्यक्ष अजय सिंह चौधरीले गर्नुभएको थियो।



















