तौलिहवा । अत्यधिक गर्मीका कारण कपिलवस्तु नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सबै विद्यालयमा चार दिनका लागि गर्मी बिदा घोषणा गरेको छ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार असार १० गतेदेखि १३ गतेसम्म सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू बन्द रहनेछन्। पछिल्ला दिनहरूमा बढ्दो तापक्रमका कारण विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्न कठिन भएको र विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने जोखिम बढेकाले बिदा दिने निर्णय गरिएको हो।
वर्षे बिदाबाट मिलान हुने गरी व्यवस्थापन गरिएको उक्त निर्णय विद्यार्थीको स्वास्थ्य सुरक्षा र हितलाई ध्यानमा राखेर गरिएको नगरपालिकाले जनाएको छ।
तराई क्षेत्रमा गर्मीको प्रभाव बढ्दै जाँदा विभिन्न स्थानीय तहले समेत विद्यालयमा बिदा दिने निर्णय गरिरहेका बेला कपिलवस्तु नगरपालिकाले पनि सो निर्णय गरेको हो ।



















