जितपुर । नेपाली गीत–संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा कलाकार दिनेश रञ्जनको मार्मिक गीत ‘रसुवाको घटना’ सार्वजनिक भएको छ। भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको धनजनको क्षति र त्यसबाट सिर्जिएको पीडालाई गीतमार्फत प्रस्तुत गरिएको छ। रञ्जनको परिकल्पना, शब्द तथा स्वर रहेको गीतले बाढीका कारण प्रभावित बनेका परिवारको पीडा, मानवीय क्षति र घटनाको संवेदनशीलतालाई उजागर गर्न खोजेको छ।
गीतमा हेमराज डाँगीको एरेन्ज तथा मिक्सिङ र कमल बि.क.को सारंगी रहेको छ। गीत महक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। निर्मल क्षेत्री अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘रसुवाको घटना’ गीतले प्राकृतिक विपत्तिको पीडालाई संगीतका माध्यमबाट आमश्रोता तथा दर्शकमाझ पुर्याउने प्रयास गरेको छ।
कपिलवस्तुमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाएका गायक रञ्जनले यसअघि पनि विभिन्न चर्चित गीतमा स्वर दिइसकेका छन्। ‘फूलमा मौरी घारमा रानो छ’, ‘पापिनीलाई बाटो खुलेछ’, ‘तिहारको बेलैमा’, ‘दिलै खोलेर’, ‘नानी गोर्खाली’, ‘जाम भो माया यही बसैमा’, ‘जिन्दगीमै लायौ’, ‘मेरो बिहे’, ‘भन सानु तिम्लाई कस्तो छ’ लगायतका गीतले उनलाई संगीत क्षेत्रमा स्थापित बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।
नयाँ गीत ‘रसुवाको घटना’मार्फत भने रञ्जनले मनोरञ्जनभन्दा फरक समाज र समसामयिक घटनाप्रतिको संवेदनालाई प्राथमिकता दिएका छन्। प्राकृतिक विपत्तिमा ज्यान गुमाउने तथा प्रभावित परिवारप्रति समर्पित गीतले घटनाको पीडा र स्मृतिलाई संगीतमार्फत जीवित राख्ने प्रयास गरेको छ।
गीतको भिडियो तल हेर्नुहोस् :
MANAI RUWAUNE TRISHULIKO GHATANA- Dinesh Ranjan ll New Nepal Song




















