गोरुसिङ्गे । बुद्धभूमि नगरपालिका–७ र ८ का ७३० घरपरिवारले आज गाउँब्लक जग्गाको लालपूर्जा प्राप्त गरेका छन्।
लामो समयदेखि गाउँब्लक जग्गाको स्वामित्वसम्बन्धी समस्या भोग्दै आएका स्थानीयलाई एक कार्यक्रमबीच जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको हो। नगर प्रमुख केशवकुमार श्रेष्ठ, नापी कार्यालय तौलिहवाका प्रमुख जनक भण्डारी, सम्बन्धित वडाध्यक्षलगायतको उपस्थितिमा घरपरिवारलाई लालपूर्जा हस्तान्तरण गरिएको थियो।
लालपूर्जा प्राप्त गरेपछि स्थानीयले आफ्नो जग्गामाथिको कानुनी स्वामित्व सुनिश्चित भएको महसुस गरेका छन्। वर्षौंदेखि जग्गाको स्वामित्व प्रमाणित गर्ने आधिकारिक कागजातको प्रतीक्षामा रहेका नागरिकका लागि लालपूर्जा वितरणले ठूलो राहत पुगेको छ।
यससँगै बुद्धभूमि नगरपालिकामा हालसम्म २ हजार ४१६ घरपरिवारले जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरेका छन्।
गाउँब्लक जग्गाको स्वामित्वलाई व्यवस्थित र कानुनी रूपमा सुनिश्चित गर्ने प्रक्रियाअन्तर्गत लालपूर्जा वितरणलाई नगरपालिकाले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। यसबाट नागरिकलाई आफ्नो सम्पत्तिको अधिकार स्थापित गर्न तथा आगामी दिनमा जग्गासम्बन्धी विभिन्न कानुनी र प्रशासनिक काम सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




















