इटहरी । इटहरीको हलगडा चोकमा रहेको हिमाली चार्जिङ स्टेसनको चौथो शाखा सञ्चालनमा आएको छ। नयाँ शाखामा नेपालका लागि चीनको हार्डहिटर कम्पनीको आधिकारिक वितरक मार्सी ईभीद्वारा उपलब्ध गराइएको अत्याधुनिक ७२० किलोवाट क्षमताको विभाजित चार्जिङ प्रणाली जडान गरिएको छ।
नयाँ चार्जिङ प्रणालीमा कुल १५ वटा चार्जिङ गन रहेका छन्। जसमा ९ वटा जीबी/टी र ६ वटा सीसीएस–२ चार्जिङ गन रहेका छन्। एक गनबाट अधिकतम २४० किलोवाटसम्म विद्युत् प्रवाह गर्न सकिने कम्पनीले जनाएको छ।
उक्त अत्याधुनिक प्रणालीको मुख्य विशेषता भनेको एकैपटक १५ वटा विद्युतीय सवारीसाधन चार्ज गर्न सकिने क्षमता हो। यसबाट लामो दूरीको यात्रामा रहेका विद्युतीय सवारीसाधनका चालकले कम समयमै सहज र प्रभावकारी रूपमा चार्जिङ सेवा लिन सक्ने अपेक्षा गरिएको छ।
नेपालमा हार्डहिटर कम्पनीको आधिकारिक वितरक मार्सी ईभी कम्पनीले हिमाली चार्जिङ स्टेसनका लागि चार्जर बिक्री तथा जडान गरेको मार्सी ईभीका सञ्चालक माधव भुसालले जानकारी दिए।
भुसालका अनुसार काठमाडौबाट सञ्चालनमा आएको मार्सी ईभीले हालसम्म नेपालका विभिन्न स्थानमा १ हजारभन्दा बढी चार्जर बिक्री गरिसकेको छ। कम्पनीले ३.५ किलोवाटदेखि ७२० किलोवाटसम्मका विभिन्न क्षमताका चार्जर बिक्री तथा जडान गर्दै आएको छ।
हालसम्म नेपालका विभिन्न स्थानमा करिब ३७५ वटा ठाउँमा चार्जर जडान भइसकेको भुसालले बताए। विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा चार्जिङ पूर्वाधारको आवश्यकता र माग पनि बढिरहेको उनको भनाइ छ।
हिमाली चार्जिङ स्टेसनका सञ्चालक शेखर सुवेदी र गोपाल भट्टराई हुन्। नयाँ शाखामा उच्च क्षमताको चार्जिङ प्रणाली सञ्चालनमा आएसँगै इटहरी तथा पूर्वी नेपाल हुँदै यात्रा गर्ने विद्युतीय सवारी साधनका चालकलाई थप सहज हुने अपेक्षा गरिएको छ।
यससँगै नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगलाई आवश्यक पर्ने छिटो, सहज र उच्च क्षमताको चार्जिङ पूर्वाधार विस्तारमा निजी क्षेत्रको लगानीसमेत बढ्दै गएको देखिएको छ।




















