लुदस, जितपुर । बाणगंगा नगरपालिका–९ का सामुदायिक वन क्षेत्र भरुवा बन्दुक लुकाउने थलो बन्दै गएको देखिएको छ। एकपछि अर्को सामुदायिक वनबाट बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद हुन थालेपछि वन क्षेत्रमै हतियार लुकाउने क्रम नरोकिएको तथ्य बाहिर आएको छ।
यसैक्रममा प्रहरीले शुक्रबार भर्लावासस्थित खुतखुते सामुदायिक वनबाट थप ४ नाल भरुवा बन्दुक बरामद गरेको छ। यसअघि अमृते सामुदायिक वन भर्तापुर, खोजिपुर सामुदायिक वन जिनुवा र कालिका सामुदायिक वन बक्सिसपुरबाट ११ नाल भरुवा बन्दुक बरामद भइसकेका थिए। पछिल्लो बरामदसँगै एउटै वडाका विभिन्न सामुदायिक वनबाट बरामद हुने भरुवा बन्दुकको संख्या १५ पुगेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले सामुदायिक वन क्षेत्रमा खोजतलास गर्ने क्रममा बन्दुक फेला पारेको हो।
प्रहरी निरीक्षक कालिका कार्कीको कमान्डमा खटिएको नौ सदस्यीय प्रहरी टोलीले काठको गोलियाभित्र स्याउलापातले छोपेर लुकाइएको अवस्थामा चारवटै बन्दुक बरामद गरेको थियो। बरामद बन्दुक सावुत अवस्थामा रहेको र आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पिपरामा राखिएको प्रहरीले जनाएको छ।
एउटै वडाका विभिन्न सामुदायिक वनबाट पटक–पटक ठूलो संख्यामा भरुवा बन्दुक बरामद हुनुले घटनालाई थप रहस्यमय बनाएको छ। आखिर कसले, किन र कुन प्रयोजनका लागि वन क्षेत्रमा यति धेरै हतियार लुकाएर राखेको थियो भन्ने प्रश्न अहिले गम्भीर रूपमा उठेको छ।
वन क्षेत्रलाई अवैध हतियार भण्डारण गर्ने स्थलका रूपमा प्रयोग गरिएको हो वा यसका पछाडि अन्य कुनै उद्देश्य छ भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। तर, लगातार भइरहेका यस्ता बरामदगीले स्थानीयवासीमा समेत चासो र चिन्ता बढाएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ




















