काठमाडौं, असार १९,
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनका लागि आफूपक्षीय शीर्ष नेताहरुसँग छलफल गरेका छन । देउवाले छलफलको क्रममा क्रियाशील सदस्यता सम्बन्धमा छलफ गरेका हुन ।
छलफलमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता एनपी साउद लगायतको सहभागिता थियो । छानविन समिति संयोजक रमेश लेखकसहित सदस्यहरु आनन्द ढुंगाना, श्याम घिमिरे र योगेन्द्र चौधरी पनि छलफलमा सहभागी थिए ।
छलफल छानविन समितिका सदस्यहरुले सम्बन्धित क्षेत्रको क्रियाशील सदस्यताका देखिएको समस्याबारे बिफ्रिङ गरेका थिए ।करिब ५ सय वडामा क्रियाशील सदस्यता सम्बन्धी समस्या राखेको संयोजक लेखकले बताएका थिए । त्यसमा पनि करिब ३ सय वडाको समस्या समाधन गर्न गाह्रो रहेको लेखकको भनाइ थियो ।
त्यसमा १३ औं महाधिवेशनका क्रियाशील सदस्यतालाई कायम राखेर भए पनि अगाडि बढ्दा राम्रो हुने लेखकले बताए । देउवाले निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्नुको विकल्प नभएको भन्दै क्रियाशील सदस्यता चाडो टुंग्याउन निर्देशन दिएका नेता साउदले रातोपाटीलाई जानकारी दिए ।उनका अनुसार देउवाले महाधिवेशनका आन्तरिक तयारीमा पनि जोड दिन र जित्ने गरी तयारीमा जुट्न नेताहरुलाई भनेका थिए ।
शनिबार विहान देउवा आफूनिकट क्रियाशील छानविन समितिका सदस्य र शीर्ष नेतासँग छलफल गरेका हुन् ।यस्तै छलफलमा नेताहरुले पनि आफ्नो क्षेत्रमा देखिएको समस्या सुनाएका थिए ।




















