बुटवल साउन १८
लुम्बिनी प्रदेशसभामा कायम ४ विपक्षी दलले बहुमतको सरकार गठन गर्न माग गर्दै प्रदेश प्रमुखसमक्ष ४१ जना सांसदको हस्ताक्षर बुझाएका छन् ।प्रदेश प्रमुख अमिक शेरचनलाई सोमबार उक्त हस्ताक्षरसहितको निवेदन बुझाउँदै उनीहरुले बहुमतको सरकार ठगनका लागि माग गरेका हुन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरु रहेका छन् ।प्रदेशसभामा हाल ८० सांसद कायम रहेका छन् ।
संविधानको धारा १६८ ९१० बमोजिम हाल कायम रहेको एकल बहुमतको सरकार अल्पमतमा परिसकेको भन्दै बहुमतको सरकार गठनका लागि पहल गर्न उनीहरुले माग गरेका छन् । नेकपा एमालेबाट निर्वाचित मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परिसकेको भन्दै अब संविधानको धारा १६८ ९२० अनुसार दुई वा सो भन्दा बढी दलहरुको समर्थनमा बहुमतको सरकार गठनका लागि विपक्षीले आह्वान गरेका हुन् ।
बहुमतको सरकार गठनका लागि कम्तीमा ४१ सांसद आवश्यक पर्दछ । नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका सभामुख बाहेक १८ जना, जसपाका ३ र जनमोर्चाका १ जना गरी कुल ४१ जनाको हस्ताक्षर प्रदेश प्रमुख शेरचनसमक्ष बुझाइएको छ । हाल नेकपा एमालेका भने ३८ सांसद मात्र रहेका छन् । यसले विपक्षी गठबन्धनमा बहुमत पुग्ने निश्चित देखिएको छ भने मुख्यमन्त्री पोखरेल अल्पमतमा परिसकेको देखिन्छ ।




















