बुटवल,साउन २१
लुम्बिनी प्रदेशसभाकी सांसद विमला वली खत्रीले आफुलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइएको खुलासा गरेकी छिन् ।बुटवलमा आज पत्रकार सम्मेलन गर्दै सांसद वलीले बुटवलस्थित मुख्यमन्त्री शंकर पोखरेलको निवासमा आफुलाई साउन १५ गतेदेखि हिजोसम्म बन्धक बनाइएको खुलासा गरेकी हुन्आफुलाई नेपालगन्जसँगै जाने भनेर यौटै गाडीमा लगे पनि पूर्वपश्चिम राजमार्गको अमिलिया पुर्याएर नेपालगन्ज नगली बुटवल ल्याइएको उनले स्पष्ट पारिन् ।
वलीले आफु दाङमा भएको बेलामा नेपालगन्ज माइती जाने भन्दै सँगै लगेर एमालेका मानिसले पूर्वपश्चिम राजमार्गको अमिलिया भन्नेस्थानबाट बुटवलतर्फ लगेको बताइन । आफुलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइएको बताउँदै वलीले मुख्यमन्त्री निवसमा सरस्वती गौतम र कमला विकसँग सँगै राखिएको बताइन ।
तर, अमिलियाबाट बुटवल फर्काउँदै नै आफु अपहरणमा परेको थाहा पाएको बताउँदै वलीले मुख्यमन्त्री निवासबाट बाहिरिने उपायको खोजीमा रहेको बताइन । हिजो आफुलाई राखिएको कोठामा गौतम र विक केहीबेर नभएको मौका पारी निवासको तल्लो तलासम्म खाली खुट्टा र त्यसपछि बाथरूमको चप्पल लगाएर बाहिरिएको जानकारी गराइन । आफ्नो चप्पल लगाउँदा भर्याङ्मा आवाज आउला भनेर खाली खुट्टा तल्लो तलासम्म ओर्लिएको उनले बताइन । त्यसपछि कानमा मोवाइल हालेर कुरा गरेजस्तै गरेर बाहिर निस्कँदा सुरक्षाकर्मीले वास्ता नगरेको उनले बताइन ।
वलीले आफुलाई जवरजस्र्त एमाले बन्न दबाब दिएको पनि खुलासा गरिन । दाङ क्षेत्र नं। ३ ख बाट निर्वाचित वलीले आफु दाङमै भएको बेलामा एमालेका सांसद भुमिश्वर ढकाल र मानबहादुर रावतले दवाव दिएको आरोप लगाइन । वलीका अनुसार मुख्यमन्त्री शंकर पोखरेलसँग भेट गरौं भनेर लगेका उनीहरुले माईन्युटमा हस्ताक्षर गरेर मात्र छाडिने कुरा गरेका थिए ।




















