असार ५, हुम्ला । स्वास्थ्यसेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले एक विद्यार्थीमा देखिएको ठेउला अन्य ५७ विद्यार्थीमा सरेको बताए ।हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको एक विद्यालयको छात्रबासमा बस्दै आएका ठूलो सङख्याका विद्यार्थीलाई ठेउला (चिकेनफक्स) रोग देखिएको आशङ्का गरिएको छ ।वडा नं ४ को याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखिएकाले उक्त रोगको आशङ्का गरिएको हो ।
‘विद्यार्थीमा लागेको रोगको लक्षण पूरै ठेउलासँग मिल्दोजुल्दो रहेको देखिएको हो ।’ उनले भन्नुभयो ।ती विद्यार्थीका अनुहार, शरीर र पाखुराभरि ठेउला जस्तै फोका आएका छन् । बिरामी विद्यार्थीको शरीरमा देखिएको लक्षण हेर्दा ठेउला भएको हुनसक्ने भएकाले उपचार गर्न र परीक्षणका लागि नमूना सङ्कलन गर्न चिकित्सकको एक टोली विद्यालयतर्फ लागेको छ ।चिकित्सकबाट परीक्षण गरेपछि त्यसको आधिकारिक पुष्टि हुने भन्दै बिरामी विद्यार्थीलाई आइसोलेसनमा राखिएको बताइएको छ ।
विद्यालयमा पुगेपछि बिरामी विद्यार्थीको उपचार र नमूना सङ्कलनसँगै गरिने भएको छ । यसको जानकारी विश्व स्वास्थ्य सङ्गठन र सुर्खेतस्थित रोग नियन्त्रण महाशाखालाई गराइसकिएको छ । स्वास्थ्य सेवा कार्यालयका अनुसार यो भाइरसबाट सर्ने सरुवा रोग भएका कारण अन्य मानिसमा सर्ने डर छ ।



















