लुदस, कपिलवस्तु
आगामी मंसिर ४ गते हुने निर्वाचनमा कपिलवस्तुबाट को बन्ला सांसद भन्ने चर्चा परिचर्चा शुरु भएको छ । प्रतिनिधि सभातर्फ ३ र प्रदेश सभातर्फ ६ निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा संम्भावित मुख्य दलका नेताहरु टिकट आ–आफ्नो पक्षमा पार्न पार्टीका शिर्ष नेताहरुमा लविङ्ग शुरु गरेका छन् । नेताहरु भेटघाट र फोन संम्वाद समेत निरन्तरता दिएको नेता निकट श्रोतको भनाई छ । निर्वाचनमा सत्तारुढ गठबन्धनबीच भागबण्डाको मोडालिटीबारे गृहकार्य भइरहेको छ । सामान्यतया अघिल्लो निर्वाचनमा गठबन्धनभित्रका दलले जितेको क्षेत्रमा सोही दललाई उम्मेदवारी दिन लगाउने चर्चा चलिरहेको छ । यद्यपि केही क्षेत्रमा गठबन्धनभित्रकै नेता व्यवस्थापनमा समस्या देखिने भएको छ ।
२०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धनका कारण धेरै क्षेत्रमा नेपाली काँग्रेसले आफ्नो बलियो प्रभावका बाबजुद हार व्यहोरेको थियो । त्यस्ता क्षेत्रमा अहिले गठबन्धनबीच भागबण्डा मिलाउन ठुलो चुनौती हुने देखिएको छ ।
कपिलवस्तुवाट पटकपटक चुनाव जितेका पूर्व मन्त्री एवं नेपाली काँग्रेसमा नेता दीपकुमार उपाध्याय अहिले आफू उम्मेदवार बन्ने या नबन्ने भन्ने अन्योलमा छन् । किनकि उनको क्षेत्रमा अघिल्लो निर्वाचनमा वाम गठबन्धनबाट माओवादी केन्द्रका चक्रपाणि खनाल विजयी भएका थिए । अघिल्लो निर्वाचनमा जितेकै आधारमा माओवादी केन्द्रका खनालले सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिने भएमा काँग्रेस नेता उपाध्यायले आफ्नो क्षेत्रमा उम्मेदवारी दिन पाउने छैनन् । यता अर्घाखाँची मा माओवादी नेता टोपबहादुर रायमाझि एमाले प्रवेश गरे संगै त्यहाँ संघको टिकट नेपाली कांग्रेसले नै पाउने निश्चित जस्तै छ । कपिलवस्तु र अर्घाखाँची सँग टिकट साटफेर समेत गर्ने विगतको ईतिहास समेत छ । अर्कोतर्फ अर्घाखाँची नेपाली कांग्रेसले पाए कपिलवस्तुमा माओवादीलाई मिलाउनुपर्ने हुन्छ । यसर्थ पनी चक्रपाणीको संम्भावना बलियो देखिन्छ ।
विक्रम संवत् २०७४ सालको निर्वाचनमा १ नम्बर क्षेत्रबाट नेकपा माओवादी केन्द्रका चक्रपाणि खनाल ‘बलदेव’, २ नम्बर क्षेत्रबाट तत्कालीन स्वतन्त्र (हाल एमाले) वृजेश गुप्ता र ३ नम्बर क्षेत्रबाट कांग्रेसका अभिषेक प्रताप शाहले निर्वाचन जितेका थिए । अहिले संघीय संसद्मा जिल्लाबाट प्रत्यक्ष र समानुपातिक गरी ५ सांसदको प्रतिनिधित्व छ ।
१ नम्बर क्षेत्रबाट माओवादी केन्द्रका चक्रपाणि खनाल ‘बलदेव’ २९ हजार ७९९ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका प्रभावशाली नेता दीपकुमार उपाध्यायले २८ हजार ८५३ मत ल्याएका थिए । तत्कालिन अवस्थामा नेकपा एमाले र माओवादी केन्द्रविच बाम गठबन्धन् रहेको थियो ।
एमालेको वलियो पकड र माओवादी कार्यक्रर्ता समेत कृर्याशिल हुदाँ झिनो मतले जित हात परेका बलदेवले टिकट पाए जित निकाल्न यसपाली भने सहज छैन् । माओवादी एमाले एक हुदाँ बनेको नेकपा पछी को फुटमा माओवादीका अधिकांस नेता कार्यक्रता समेत एमालेमै बसेका कारण आफ्नो पार्टीको संरचना कमजोर भएको र एमालेबाट विष्णु पंन्थीले टिकट पाएको खण्डमा चुनाव निकै प्रतिस्पर्धा हुने राजनितिक विश्लेषकहरु बताउछन् । पंन्थी नेपाली कांग्रेसका कार्यक्रता विच पनी लोकप्रिय मात्र होईन् विपक्षीलाई रिझाउन सक्ने चर्तुर नेता मानिन्छन् । यदी दिप कुमारले टिकट पाएको खण्डमा भने प्रतिस्पर्धी एमाले कमजोर हुने आंकलन छ । कांग्रेस आफैमा प्रतिस्पर्धी पार्टी र बलियो संगठन त्यसैमा गठबन्धन सहित कुटनितिमा माहिर मानिने उपाध्याय गठबन्धन दल र पार्टी भित्रको अन्र्तरघात मिलाएर लैजाने दाउमा छन् । यी दुवै नेताहरु टिकटको रस्साकस्सीमा छन् ।
पूर्व राजदूत उपाध्याय कांग्रेसका प्रभावशाली नेता मानिन्छन् । उनले २०३० सालमा तत्कालीन हथौसा गाउँ प्रधानपञ्च निर्वाचित भई राजनीतिक यात्रा शुरू गरेका थिए ।
२०४६ सालमा कांग्रेस प्रवेश गरेका उनी २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा कपिलवस्तु–२ बाट विजयी भएका थिए ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचन जितेका उपाध्याय पटक–पटक मन्त्री भइसकेका व्यक्ति हुन् । माओवादीका खनाल तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमाण्डर हुन् । जिल्लामा खनाल निडर, सहयोगी र व्यावहारिक नेता मानिन्छन् ।
कांग्रेसबाट अर्का नेता अतहर कलामको पनि चर्चा छ । १ नम्बर क्षेत्र जिल्लाको दक्षिणी क्षेत्र हो । मधेशी समुदाय बाहुल रहेको क्षेत्रमा एमालेबाट प्रदेश सांसद विष्णु पन्थी र पूर्व सांसद बलराम अधिकारीको चर्चा छ । पंन्थीले पार्टीले अगाडि सारे आफू यसपटक संघीय निर्वाचन लड्ने तयारीमा जुटेको बताउदै आएका छन् ।
१ नम्बर क्षेत्रबाट गत निर्वाचनमा प्रदेशसभा (१) बाट एमालेका पन्थी २५ हजार ५२७ मतका साथ विजयी हुँदा कांग्रेसका पुरन चौधरीले १६ हजार ६८३ मत ल्याएका थिए । प्रदेशसभा १(२) बाट तत्कालीन संघीय समाजवादी फोरमका सहस्रराम यादव ७ हजार ३९८ मतका साथ विजयी हुँदा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका मधुसुदन शरण चौधरीले ६ हजार ६४ मत ल्याएका थिए । यादव अहिले लुम्बिनी प्रदेशमा भौतिक पूर्वाधार तथा विकास मन्त्री छन् । त्यस्तै पूर्वमन्त्री दीपकुमार उपाध्यायका छोरा आशिष उपाध्याय प्रदेशमा आकांक्षी रहेको बताइन्छ । यदि तालमेल भएर क्षेत्र नम्बर १ कांग्रेसले माओवादीलाई छाडनुपर्ने अवस्था आए सोहि क्षेत्रको प्रदेशमा कांग्रेसले दीपकुमारका छोरा आशिष उपाध्यायलाई अगाडि सानुपर्ने केही नेताहरू बताउँछन् । यस क्षेत्रमा सोहि खेमाका नेता दोलकराम घिमिरे पनी प्रदेश सांसदमा आकांक्षी छन् । उनि कपिलवस्तु उद्योग वाणिज्य संघको अध्यक्ष समेत हुन् । गठबन्धन भएमा प्रदेशमा यो क्षेत्र सुरक्षित जस्तै छ । आशिषले लुम्बिनी दर्पण संग कुरा गर्दै भने आफ्नो त्यस प्रकारको मनस्थिति नरहेको र पार्टीले खटाएको खण्डमा आफु जुनसुकै जिम्मेवारी लिन तयार रहेको बताए ।
यसपटक कपिलवस्तुको २ नम्बर क्षेत्रमा एमालेबाट वृजेशकुमार गुप्ता चुनाव लड्ने तयारीमा छन् । यसअघि २०७४ सालमा हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीति समूहमा रहेर पनि सूर्य चिह्न लिएर चुनाव लडेर जितेका उनी अहिले एमालेमा छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले चैत १४ गते एमालेमा भित्र्याएका थिए ।
उनी कपिलवस्तुबाट लगातार ४ पटक जितेका नेता हुन् । गत निर्वाचनमा उनले कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यलाई पराजित गरेका थिए । गुप्ता ३५ हजार १२७ मतका साथ विजयी हुँदा आचार्यले ३१ हजार ५६६ मत ल्याएका थिए । यसपटक क्षेत्र नम्बर २ मा कांग्रेसबाट आचार्य नै प्रमुख दाबेदार रहेको कांग्रेस नेताहरू बताउँछन् । एमालेले यहीँ क्षेत्रमा टिकट दिने गरी गुप्तालाई भित्र्याएको हो । गुप्ताले २०५६, २०६४, २०७० र २०७४ सालको निर्वाचन जितेर जिल्लामा एकछत्र दबदबा कायम राखेका छन् । एमालेबाट गुप्तासँगै पूर्व सांसद बलराम अधिकारीले पनि लबिङ गरिरहेका छन् तर गुप्तालाई नै प्रतिनिधि सभामा अगाडि सारेर अधिकारीलाई प्रदेश सभामा पठाउने एमालेको तयारी देखिन्छ ।
गत निर्वाचनमा कपिलवस्तु प्रदेशसभा २(१) मा एमालेका दृगनारायण पाण्डेय १९ हजार २४४ मतका साथ विजयी हुँदा कांग्रेसका जवाहरलाल चौधरीले १७ हजार ६६ ल्याएका थिए । पाण्डेय प्रदेशसभाका पदमुक्त सांसद हुन् । प्रदेशसभा २(२) मा सूर्य चिह्न लिएर उम्मेदवार बनेका धर्मबहादुर लाल श्रीवास्तव १० हजार ४३६ मतका साथ विजयी हुँदा कांग्रेसका सुधाकर पाण्डेयले १० हजार ५० मत ल्याएका थिए । श्रीवास्तव पनि अहिले एमालेमा प्रवेश गरेका छन् । उनी लुम्बिनी प्रदेशका पूर्व मन्त्री पनि हुन् ।
३ नम्बर क्षेत्रमा कांग्रेसबाट अभिषेकप्रताप साह आकांक्षी छन् । उनले तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) का मंगलप्रसाद गुप्तालाई पराजित गरेका थिए । साहले १९ हजार ८६४ मतका साथ विजयी हुँदा गुप्ताले १५ हजार ७९४ मत ल्याएका थिए । मंगल गुप्ता वृजेशसँगै एमालेमा प्रवेश गरेका हुन् ।
कांग्रेसबाट प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनोडिया पनि आकांक्षी छन् । एमालेले गुप्तालाई अगाडि सार्ने देखिन्छ । गुप्ता एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य समेत हुन् ।
प्रदेशसभा ३(१) मा अर्जुनकुमार केसी ९ हजार ४३ मतका साथ विजयी हुँदा राजपाका रविदत्त मिश्रले ८ हजार १९७ मत ल्याएका थिए । प्रदेशसभा ३(२) मा कांग्रेसका वीरेन्द्रकुमार कनोडिया ६ हजार ६७९ मतका साथ विजयी हुँदा जाबेद आलम खाँले ६ हजार ३७ ल्याएका थिए ।
कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कलामले जिल्लामा कांग्रेस मजबुत भए पनि आन्तरिक समस्या धेरै हुँदा निर्वाचनमा सोचेजस्तो परिणाम नआएको बताए । ‘जिल्लामा कांग्रेस कमजोर छैन तर कमजोरी छ । त्यसैले आउँदो निर्वाचनमा पनि गठबन्धन गरेर गएमा हितकर हुने म देख्छु, हेरम केन्द्रबाट के आउँछ कुरा,’ सभापति कलामले भने स्थानीय निर्वाचनमा १० पालिकामध्ये ४ वटा कांग्रेसले जितेको छ ।
एमाले कपिलवस्तुका नेता विष्णु पन्थीले स्थानीय निर्वाचन समीक्षासँगै पार्टी संघीय निर्वाचनतर्फ केन्द्रित भएको बताए । पंन्थीले जिल्लाका १ र २ नम्बर क्षेत्रमा मजबुत भए पनि ३ नम्बर क्षेत्रमा पार्टीको अवस्था कमजोर रहेको बताए । नेकपा एमालेका अध्यक्ष डम्बर शर्माले आकांक्षी भएपनी आधिकारीक विषयमा आफु अहिले नबोल्ने बताए ।




















