जितपुर । अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटीले एसईई २०८२ मा ४.० जिपिए ल्याउन सफल विद्यार्थीहरूलाई सम्मान गरेको छ । शनिबार आयोजित सम्मान कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान तथा बधाई प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) कपिलवस्तु जिल्ला कमिटी अध्यक्ष बाबुराम खनालले मेहनत, अनुशासन र लक्ष्य प्रतिको प्रतिबद्धताले नै सफलता प्राप्त हुने बताउँदै विद्यार्थीहरूलाई आगामी अध्ययन यात्राका लागि शुभकामना व्यक्त गरेका छन् । उनले देशको भविष्य विद्यार्थीहरूको काँधमा रहेको उल्लेख गर्दै शिक्षा र नेतृत्व सँगसँगै अघि बढाउन आग्रह गरेका छन् ।
पारस मरासिनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज बिष्णु घिमिरे, अनेरास्ववियु विद्यार्थी फाँट इन्चार्ज एवं नेकपा (एमाले) जिल्ला सदस्य सुन्दर पाण्डे, अनेरास्ववियु कपिलवस्तु पूर्व अध्यक्ष निशान खड्का लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक तथा अनेरास्ववियुका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अनेरास्ववियु कपिलवस्तु जिल्ला सचिव शेषकान्त मरासिनीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



















