थानेश्वर अधिकारी । श्रावण महिनालाई भगवान शिवको आराधना, भक्ति र आध्यात्मिक साधनाको पवित्र अवसरका रूपमा मनाउँदै बाणगङ्गा–६ स्थित लक्ष्मणघाट बोलबमधाममा यस वर्षको श्रावणी मेला सञ्चालन भइरहेको छ। लक्ष्मणघाट बोलबमधाम विकास समितिको आयोजनामा २०८३ साल श्रावण १३ गते (गुरु पूर्णिमा)देखि सुरु भएको मेला भाद्र १२ गते (जनै पूर्णिमा)सम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
मेलामा पछिल्ला दिनमा श्रद्धालु भक्तजनको सहभागिता बढ्दै गएको छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि कपिलवस्तु तथा आसपासका जिल्लाबाट ठूलो संख्यामा भक्तजन लक्ष्मणघाट पुगेर भगवान शिवको पूजा–आराधना, जलार्पण तथा धार्मिक अनुष्ठानमा सहभागी भइरहेका छन्।
लक्ष्मणघाट बोलबमधाम विकास समितिका अध्यक्ष रणबहादुर काउचाका अनुसार मेलाको मुख्य आकर्षणका रूपमा भक्तजनले सातौँ भागिरथी नदीमा पवित्र स्नान गरी धामका पुजारीबाट वैदिक विधिअनुसार जल सङ्कल्प गराउने र त्यसपछि १०८ शिवलिङ्ग तथा शिव मन्दिरमा जलार्पण गर्ने व्यवस्था मिलाइएको छ। धार्मिक विधिअनुसार गरिने यस अनुष्ठानले भक्तजनमा आध्यात्मिक शान्ति, श्रद्धा र सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ।
मेलालाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी भक्ति, संस्कृति र मनोरञ्जनसँग जोड्ने गरी विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन भइरहेका छन्। प्रत्येक आइतबार साँझ ७.०० बजेदेखि भव्य गङ्गा आरती हुँदै आएको छ। गङ्गा आरतीमा भक्तजनको उल्लेख्य सहभागिता रहने गरेको आयोजकले जनाएको छ।
त्यसैगरी प्रत्येक आइतबार राति ९ः०० बजेदेखि ११ः०० बजेसम्म कपिलवस्तु युवा भजन समूहले विशेष शिवभजन तथा भक्तिमय सांगीतिक प्रस्तुति दिँदै आएको छ। भजन तथा सांगीतिक प्रस्तुतिले मेलास्थलमा थप भक्तिमय वातावरण सिर्जना गरेको छ। यस्तै, प्रत्येक सोमबार बिहान बाणगङ्गा–६ भगलापुरका भजन समूहबाट भजन–कीर्तन कार्यक्रम सञ्चालन हुँदै आएको छ।
श्रावणी मेलाका अवसरमा भक्तजनले शिवको पूजा, जलार्पण र दर्शनसँगै धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुने अवसर प्राप्त गरिरहेका छन्। आयोजकका अनुसार मेलाले स्थानीय धार्मिक परम्परा, कला–संस्कृति र भजन–कीर्तनको संरक्षणमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
धार्मिक आस्था र सांस्कृतिक परम्पराको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलाले लक्ष्मणघाट बोलबमधामलाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण शिवधामका रूपमा थप परिचित गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।
मेलाका संरक्षकमा बाणगङ्गा नगरपालिका–६ वडा कार्यालय तथा सह–आयोजकमा लक्ष्मणघाट सामाजिक विकास केन्द्र र कपिलवस्तु युवा भजन समूह रहेका छन्। आयोजकले देश तथा विदेशमा रहेका सम्पूर्ण श्रद्धालु भक्तजनलाई लक्ष्मणघाट बोलबमधाममा सहभागी भई भगवान शिवको दर्शन, पूजा–आराधना तथा धार्मिक पुण्य लाभ लिन हार्दिक आग्रह गरेको छ।




















